काकरभिट्टा, १७ बैशाख । विश्वभर आक्रान्त मच्चाइरहेको कोरोना भाइरसको संक्रमण झापामा पनि पुस्टि भएसंगै झापाको मेचीनगर नगरपालिकाले आफ्नो नगर क्षेत्रमा लकडाउनलाई अझ कडाई गर्ने निर्णय गरेको छ ।
मेचीनगर नगरकार्यपालिकाको मंगलबार बसेको बैठकले नगर भन्दा बाहिरबाट आवत जावतमा थप कडाई गरेको छ भने तरकारी, फलफुल, दुध, माछामासु लगायतका सामाग्री नगरभन्दा बाहिरबाट ल्याएर बिक्रि बितरण गर्न नपाईने निर्णय गरेको छ ।
त्यस्तै अत्यावश्यक सामग्री खरिद बिक्रिका लागि नगरभित्रका पसलहरु बिहान ६ बजेदेखि बिहान ११ बजेसम्ममात्र खुला गर्न पाउने ब्यवस्था गरेको मेचीनगरका प्रमुख बिमल आचार्यले बुधवार पत्रकार सम्मेलनमा बताए ।

नगरबाहिरबाट मेचीनगर भित्र बसोबास गर्ने गरी कुनै पनि ब्यक्ति प्रवेश गर्न नपाईने र नगरपालिकाको निर्णयलाई उल्लघंन गर्दै लुकिछिपी कोही ब्यक्ति नगरभित्र आएर बसेको भेटिए तत्काल नगरपालिकाले ब्यवस्था गरेको क्वारेन्टिनमा १५ दिन राखिनेछ । क्वारेन्टिन अवधिभर खाने र बस्ने ब्यवस्था सम्बन्धी ब्यक्तिले नै गर्नु पर्ने प्रमुख आचार्यले बताए ।
नगरपालिकाको तर्फबाट बैशाख १६ गतेसम्म जारी भएका विभिन्न प्रकारका सवारी पास खारेज गर्ने निर्णय समेत गरेको छ । आवश्यकताका आधारमा नयाँ पास जारी गर्ने गरी पुराना सबै सवारी पास खारेज गर्ने निर्णय भएको नगरप्रमुख आचार्यले बताउनु भयो । प्रमुख आचार्यका अनुसार नयाँ सवारी पास जारी गर्दा नगरभित्र मात्र सञ्चालनका लागि जारी गरिने र नगरबाट बाहिर आवतजावत गर्न जिल्ला प्रसाशन कार्यालयले जारी गरेको पास मात्र मान्य हुने छ ।

नगरभित्रका सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुको निक्षेप फिर्ता लिन चाहनेलाई घरैमा पुगेर रकम फिर्ता गर्नु पर्ने समेत निर्णय गरेको छ । सहकारी संस्थाले आफ्ना संकलकहरु मार्फत सदस्यहरुको माग बमोजिमको रकम घरघर नै पुगेर फिर्ता गर्नु पर्ने ब्यवस्था गरेको हो ।
तरकारी, फलफुल, खाद्यान्न सामाग्री, दग्ध उत्पादन नगरभित्र तोकिएको समय बिहान ६ बजेदेखि बिहान ११ बजेसम्म होम डेलिभरि गर्न पाईने र त्यसका लागि नगरपालिकाले तोकेको मापदण्डमा मेची उद्योग वाणिज्य संघले सवारी साधनलाइ पास जारी गर्ने र त्यसको जानकारी नगरपालिकालाई गराउनु पर्ने ब्यवस्था गरेको नगरप्रमुख आचार्यले बताए ।

