महोत्तरी, २१ बैशाख । महोत्तरीमा अज्ञात रोगका कारण आइतबार थप एक जनाको मृत्यु भएको छ । केहि दिन देखि अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या १२ जना पुगेको छ ।
प्रहरीका अनुसार आइतबार बिहान भंगाहा ७ का ५८ वर्षीय रुपनारायण सिंह दनुवारको मृत्यु भएको हो । स्थानीयका अनुसार दनुवार बिहानसम्म बिरामी थिएनन् । अचानक बिरामी परेर उनको मृत्यु भएको स्थानीयले बताएका छन् । शनिबार मात्र अज्ञात रोगका कारण २ जनाको मृत्यु भएको थियो ।

मृतकमा एकै खालको लक्षण देखिएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार अचानक पेट दुखेपछि बान्ता गर्ने र झाडापखला लाग्ने र अन्तिममा बिरामीको मृत्यु हुने गरेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आएको चिकित्सकहरुको टोलीले घटनास्थल पुगेर अध्ययन गरिरहेको र सम्पूर्ण परीक्षणको रिपोर्ट आएपछि मात्रै रोग यो हो भन्ने सकिने घटनास्थल पुगेका चिकित्सकहरुले बताएका छन् ।

