काठमाडाै । महोत्तरी गाउँपालिका–३ मोरइका ६० वर्षीय एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको हो ।
उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति ७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा। निदेश सापकोटाले जानकारी दिए । गम्भिर अवस्थामा अस्पताल भर्ना भएका उनको कोरोना पोजेटिभ रिपोर्ट आएको तीन दिनपछि मृत्यु भएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डाक्टर सापकोटाका अनुसार गम्भिर अवस्थामा अस्पताल आएको र आईसीयू केयरमा उपचार गर्दै पीसीआर जाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो । ती पुरुषको गएराति नै अन्त्यष्टि गरिएको उनले बताए ।
उपचारमा आउँदा गम्भीर अवस्थाका पुरुषमा कुनै दीर्घ रोग थिएन । तर कोरोना संक्रमणपछि उनलाई निमोनिया र मिर्गौला ड्यामेजको समस्या देखिएको थियो ।
योसँगै प्रतिष्ठानमा उपचारका लागि आएका दोस्रो कोरोना संक्रमितको मृत्यु भएको छ । यसअघि सप्तरीको राजविराजका एक जनाको मृत्यु भएको थियो ।

