adv
Advertise Expired !

चुलाचुलीमाथी दमकको हेपाहा प्रविर्ती कहिले सम्म ? बस्ति हटाउन वारेन्ट जारी !

निशेष राई सत्यरुप, ८ भाद्र, इलाम । भारतको जस्तै वलमिचाईको चरितार्थ इलाम जिल्लाको दक्षिणी चुलाचुली गाउँपालिकामा पनि दशकौँ अघि देखी जारी छ । चुलाचुलीको ‘बडे भाई’ अरु कोही नभएर छिमेकी जिल्ला झापा अनि त्यहाँको दमक नगरपालिका हो ।

इलामको भूगोलमा रहेर पनि ‘इलामले नदेखेको झापाले हेपेको’ भन्ने उपमा पाएको चुलाचुलीले दशकौँ देखी खहरेको भेल, पहिरोको चपेटा, पानीको हाहाकार, प्रसासनको लाठ्ठी, विकाश विनाको जर्जता राम्रो संग भोगेको छ ।

कहिले मोरङ जिल्लाको मधुमल्लाको भूगोल बनेको यस स्थान इलामको बाँझो गा.वि.स. हुँदै झापामा गाभिनु खोज्दै इलाम जिल्लाको चुलाचुली गाउँपालिकाको रुपमा आईपुगेको छ । पर्यटनको प्रचुर सम्भावना बोकेर पनि इलाम जिल्लाको उपेक्षामा पर्दे चुलाचुलीले गरिवी, अशिक्षा र विकटताको विशेषता बनाएको छ ।

यत्तिका अवस्थासम्म चुलाचुली ‘ताते’ गरीरहँदा अ‍ैधीमात्रमा झापा जिल्ला प्रसासन र दमक नगरपालिकाबाट यहाँका स्थानियहरुले दुःख/पिडा अनि तिरस्कारको अनुभव लिने मौका पाएका छन् । यसमा पनि विशेषगरी हालको चुलाचुली वडा नं. ५ का स्थानियहरुले त्यो अनुभव लिएका छन् ।

करिव पाँच दशक अघीको कुरो हो । हालको चुलाचुली गाउँपालिका ५ रमाईलो चौकको पुर्व पट्ी तत्कालिन इलामको वाझो गा.वि.स. २ मा पर्ने एक वस्तिमा दमक नगरपालिकाले शक्ति प्रदर्शन गर्योे । त्यतिवेला त्यस वस्तिमा करिव २ सय घर थिए । दमकको इलाकामा इलामका नागरीक वस्यो भनेर तत्कालिन दमक राष्ट्रिय पंञ्चायतका प्रधानपंञ्च वलभद्र कुँवरले शाही शेना लगाएर त्यो वस्ति हटायो । त्यस वस्तिकाहरु लखेटीनुको केवल एउटै कारण थियो–इलामका नागरीक झापाको इलाकामा वस्नु ।

यहाँकाले के सम्म भोगेनन्ः खोलाको उकाशमा बस्दा इलामकालाई हाम्रो भूमिमा बस्न दिनुहुँदैन भन्दै झापा प्रसासनको लाठ्ठी खाएका छन्, लात खाएका छन् । बाटो लान्छौँ भन्दा ‘इलाम बाटनै खनेर ले ! हाम्रोबाट लान पाउदैनस् !’ भन्ने उत्तर पाएका छन् । विजुली बाल्छु जोड्न दिनुस् भन्दा ‘इलामको भएर इलामबाट ल्याउने हो हाम्रोबाट जोड्न दिईन्दैन’ भन्ने भनाई खाएका थुप्रौ अनुभवहरु छन् । तर जे होस् वाध्यताले मन टर्रो पारेर पनि ति कुराहरु उनीहरुले दिनुपरेको छ ।

उसो त दमकका स्थानियहरुले पनि चुलाचुली हुँदै दर्जनौँ सिंञ्चाईका नहर लगेका छन् । जसरी किनमेलका लागि चुलाचुलीका स्थानियहरु दमक झर्छन त्यसरीनै दमककाहरु रमाईलो गर्न चुलाचुली आउछन् । दुवै क्षेत्रहरु आफैमा पुर्ण छैनन, तर झापा प्रसानको सिमावर्ती इलामेली नागरीकलाई गर्ने व्यवहार फरक छ ।

भारतको हेपाहा प्रविर्ती नेपालमा हिजो पनि थियो, आज पनि छ भने जस्तै छिमेकी दमक नगरपालिकाको हेपाहा प्रविर्ती चुलाचुलीमा हिजो पनि थियो, आज पनि छ । एकातिर झापाको शक्तिशाली नगरपालिका दमक, अर्कोतिर इलामको पिछडा/कमजोर गाउँपालिका चुलाचुली । सामान्य विवादमा पनि दमकको पेलाई राम्रै छ । यसमा चुलाचुलीका जनप्रतिनिधीहरु निरिह जस्तै बनेका छन् ।

विशेषगरी चुलाचुली–५ का नागरीकमा अहिले एउटा कुरोले मन पोलिरहेको छ । वि.स. २०३४ साल देखी बसेको आफ्नो बस्ति छाडेर कता जानुपर्ने हो भनेर ।

स्थानियको भनाईअनुसार चुलाचुली ५ को तल्लो क्षेत्र, दमक नगरपालिकाको भनाई अनुसार दमक वडा नं. २ मा पर्ने रतुवा खोलाको उकासमा २०३४ साल देखी बसेको बस्तिलाई नगरपालिका र सोही क्षेत्रको हंसेदुम्से सामुदायिक वनले हटाउन ताकेता सुरु गरीसकको छ । वन क्षेत्र अतिक्रमण गरी बसेको भन्दै अख्तियारबाट पत्र कटाएर सो क्षेत्र खाली गर्न भन्दै ३५ दिने, २१ दिने हुँदै १५ दिने वारेन्ट जारी भईसकेको छ ।

तर त्यहाँका स्थानियहरुले उक्त क्षेत्रमा वन अतिक्रमण नगरी खोलाको उकास, खाली जग्गा (बगर)मा आफूहरु बसेको दावि गर्छन । साथै त्यस क्षेत्र इलामको रहेको समेत उनीहरु बताउँछन् ।

नगरपालिकाले आफ्नो स्वार्थका लागि बस्ति हटाउन खोजेको स्थानिय गंगा राईको आरोप छ । उहाँले भन्नुभयो–‘नगरपालिकाले मनोमानी रुपमा बस्ति छेउमा फोहोर ब्यवस्थापन केन्द्र बनायो अनि हामीले बिरोध गर्दा हामीलाई नै खेदाउन लागि पर्यो ।’

साथै उनीहरु उक्त क्षेत्र इलामको भएको दावि गर्छन् । स्थानिय वुद्धिजिवी व्रतकुमार राईका अनुसार २०२७ सालको नापि अनुसार उक्त क्षेत्र इलामको हो । दमक नगरपालिकाले पेलेर आफ्नो अनुकुल जथाभावी सिमाङ्कन गरेको उहाँको आरोप छ । २०२७ साल भन्दा अघि उक्त क्षेत्र मोरङको मधुमल्लाको हिस्सा पथ्र्यो । २०२७ सालको नापीले हाल दमक ३ को दुम्से माथिल्लो टोल देखी हंसेदुम्से सामुदायिक वनको माथिल्लो क्षेत्र हुँदै अहिले स्थानान्तरण गर्न खोजिएको बस्तिहरु तत्कालिन इलामको बाँझो गा.वि.स. वडा नं. २ मा पर्नेगरी नापेको वुद्धिजिवी राईको दावि छ ।

प्रसासनिक कामका लागि झापा सहज भएको हुँनाले स्थानियहरुले झापा बोल्न रुचाँउने र झापाले पनि आफ्नो अनुकुल सिमाङ्कन गरिदिदा अहिले यस क्षेत्रमा बसेको बस्ति हटाउन खोज्दा समस्या आएको उहाँको भनाई छ ।

राईका अनुसार दमक–२ ले उपभोग गर्दे आएको केही क्षेत्र पनि इलामको भुभाग हो । २०२७ सालको नापी आउँदा हालको दमक–२ को खरायो कटेज आसपासमा रतुवा खोला बग्थ्यो । त्यही खोलाको आधारमा पश्चिम–दक्षिण पट्टी झापा र उत्तर–पूर्व पट्टी इलाम भनेर दुई जिल्लाको सिमा निर्धाण गरिएको थियो । तर हाल रतुवा खोला उत्तर–पूर्व पट्टी धेरै कटान गरेर बगीरहेको छ । पश्चिम–दक्षिण पट्टी सयौँ विगाहा जमिन उकासमा निस्किएको छ । त्यसमा इलाम चुलाचुलीको स्वामित्व रहनु पर्ने समाजसेवी राईको भनाई छ । दमकले यस क्षेत्रबाट बार्षिक करोडौँ रुपौँया खोला उत्खनन्बाट राजस्व संकलन गरिरहेको छ ।

चुलाचुली वडा नं. ५ का अध्यक्ष चन्द्रकुमार थापाले आफुहरु यस बिषयमा गम्भिर रुपमा छलफलमा जुटेको बताउनुभयो । नगरपालिकासंग भएको पटक पटकको वार्ता विनानिश्कर्ष सकिएको उहाँको भनाई छ ।

चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले पनि बस्ति स्थानान्तरणको विषयले आफूहरु गम्भिर भएको बताउनुभयो । आफुहरु गम्भिर रुपमा निरन्तर छलफलमा रहेको उहाँको भनाई छ ।

यता स्थानियहरु भने कुनै पनि हालतमा आफुहरु उक्त वस्ति छाड्न नसक्ने बताउदैँ आएका छन् । आफूहरुले वन क्षेत्र अतिक्रमण नगरेको उनिहरुको दावि छ । पछि वनले आफूहरुसंग कुनै सल्लाहनै नगरी वस्ति क्षेत्रलाई वन क्षेत्रमा ‘ईन्भेन्ट्री’ गरेको र अहिले मात्र सो जानकारी पाएको भन्दै उनिहरुले आक्रोश पोखे । चुलाचुली गाउँपालिकाले पनि सिमा विबाद समाधान बारे यथासिघ्र कदम चाल्नू पर्ने उनीहरुको भनाई छ ।

स्थानिय जितवहादुर राईले भन्नुभयोः ‘हामी इलाम क्षेत्र कै भनेर विभिन्न वाहानामा दमकले हामीलाई हटाउन खोजेको हो । दमक नगर क्षेत्रभित्र खोलाको उकासमा बसेका अन्य वस्तिलाई नहटाउनु अनि हामीलाई मात्र हटाउनु खोज्नु के यो न्यायपूर्ण छ ?’ उहाँको प्रश्न थियो । ‘कित सवै खोलाको उकासमा वसेका वस्तिलाई हटाउनु पर्यो नभए हामीलाई मात्र हटाउनु पाईदैन ।’ उहाँले भन्नुभयो ।

लामो समय देखी उक्त क्षेत्र विवादीत भन्दै आएको छ । त्यस वस्तिको उत्तरमा इलाम क्षेत्रको वस्ति, पश्चिम दक्षिणमा झापाको हंसेदुम्से सामुदायिक वन, पुर्व दक्षिणमा दुधे खहरे खोलाको उकासमा पलाएको वन र त्यही वन भित्र दमक नगरपालिकाको फहोरमैला व्यवस्थापन केन्द्र निर्माणधिन अवस्थामा छ ।

दमकले कही ठाउँ नपाएर इलामसंगको सिमामा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरेको भन्दै आसपासका इलाम क्षेत्रका वस्तिले चर्को विरोध गरेको थियो । विरोध अहिले पनि छ । त्यही विरोधका वावजुद दमक नगरपालिकाले धमाधम काम बढाईरहेको छ ।

फोहरमैला व्यवस्थापन ऐन, २०६८ को उपदफा २ अनुसार फोहोरमैला व्यवस्थापन केन्द्र (ल्याण्डफिल्ड साईड/डम्पिङ साईड) निर्माण गर्दा ‘जनस्वास्थ्य तथा वातावरणमा प्रतिकूल असर नपर्ने गरी तोक्नु पर्नेछ ।’ भनिएको छ, तर त्यहाँ दमक नगरपालिकाले अहमता देखाएर बस्तिका नागरीकहरुसंग समन्वय नगरी, बस्तिलाई प्रत्यक्ष असर पर्नेगरी १०० मिटर आसपासकै दुरीमा फहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरिरहेको छ । आउदो समयामा वस्तिका कारणले नगरपालिकाले निर्माण गरिरहेको फोहोर व्यवस्थापन केन्द्रमा समस्या आउन सक्ने भन्दै आन्तरीक रुपमा नगरपालिका विभिन्न वाहाना वनाएर बस्ति हटाउन लागि परिरहेको छ ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली उक्त बस्ति वन अतिक्रमण गरेर बनाईएकाले विना शर्त खाली गर्नुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो–‘उहाँहरु सवै इलाम पट्टीका हुनुहुन्छ, अनि हाम्रो क्षेत्रको वन अतिक्रमण गरेर बस्नुभएको छ । विनाशर्त उहाँहरुले बस्ति छाड्नु पर्छ ।’

बस्ति स्थानान्तरणको विषयले चुलाचुली र दमकबीचको सम्वन्धलाई छर्लङ् पारेको छ । यि दुई जिल्लाका छिमेकी स्थानियतहहरुमा थप समन्वय हुन आवश्यक छ । हाल देखिएको समस्याहरु एकपक्षिय रुपमा सिमा क्षेत्रमा पुर्वधार निर्माण, खोला उत्खनन्को विवाद, सिमा क्षेत्रको वस्ति उठान नै हुन् । ठोस प्रमाणका आधारमा चाडो भन्दा चाडो दुई जिल्लाको सिमा निर्धारण गर्नुपर्ने देखिन्छ । नभए भोलीको दिनमा यस्ता समस्याहरु झनै विकराल रुपमा देखिने छन् ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु