काठमाण्डाै ।आज प्रदेश नम्बर १ को केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
देशको अरु ठाउँको मौसम भने सामान्यतया बादल लागी केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए ।
आज प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा सामान्यदेखि पूर्ण बदली रही देशका अरु ठाउँमा आंशिकदेखि सामान्य बादल लाग्ने छ ।
प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई ठाउँमा अहिले सामान्य पानी परिरहेको छ । यी ठाउँहरुमा दिउँसो पनि सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ।
राति भने देशभर सामान्यतया बदली रही केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले बताए ।
बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव र भारतमा बनेको न्यूनचापीय रेखाको प्रभावका कारण नेपालमा पानी पर्ने सम्भावना भएको हो ।

