adv

लामो दुरीका यातायात आजदेखी खुल्दै

काठमाडौँ,१ असोज  । गत चैत ११ देखि बन्द लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात बिहीबारबाट खुल्दै छन् । कोरोना सङ्क्रमणबाट सुरक्षित रहने कडा मापदण्ड अपनाएर सरकारले सार्वजनिक यातायात सञ्चालनमा खुला गरेको भौतिक पूर्वाधार तथा यायायात मन्त्रालयले जनाएको छ ।

बुधबार यातायात व्यवसायी, प्रहरी र यातायात व्यवस्था विभागका सरोकारवालालाई मन्त्रालयमा बोलाएर मन्त्री वसन्तकुमार नेम्बाङले सुरक्षा मापदण्ड कुनै पनि हालतमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । त्यसको अनुगमन ट्राफिक प्रहरी, विभाग, स्थानीय तहले गर्ने सहमति भएको छ ।

कुनै पनि सार्वजनिक सवारीसाधनले सिट क्षमताभन्दा आधा यात्रु चढाउनुपर्ने नियम कडाइसाथ पालन गर्नुपर्ने विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीले
ठाउँठाउँमा चेक गर्नेछ ।

साबिक भाडामा ५० प्रतिशत बढाएर लिने तर सिट क्षमताको आधा यात्रु मात्र चढाउने मन्त्रिपरिषद्को निर्णय भएको र सो निणर्य पूर्ण कार्यान्वयन हुनेगरी तयारी भएको महानिर्देशक हमालले जानकारी दिनुभयो ।

साथै यात्रु तथा बसका कर्मचारीले अनिवार्य रूपमा मास्क तथा सेनिटाइजरको प्रयोग गर्नुपर्ने छ । सामाजिक दूरी कायम हुनुपर्ने छ । यी नियम ट्राफिक प्रहरीले कडाइका साथ लागू गराउने भएको छ । लामो तथा मध्यम दूरीका यात्रुलाई खाजा तथा खाना स्थानीय प्रशासन र व्यवसायी सङ्घले नै समन्वयन गरेर खुवाउनुपर्ने छ । लामो दूरीका बसले बीच बाटोमा यात्रु चढाउने वा अनावश्यक काममा रोकिन पाउने छैनन् ।

व्यवसायीले पनि स्वास्थ्य मापदण्ड कार्यान्वयन गर्ने बताएका छन् । आधा यात्रु मात्र चढाउन आफूहरू तयार रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ तर नियम कार्यान्वयनमा कडाइ र निष्पक्षता दुवै हुनुपर्ने व्यवसायीको भनाइ छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु