पाँचथर ।पछिल्लो समय पाँचथरबाट सुरु भएको साँस्कृतिक पुनर्जागरण अभियानलाई मूर्त रुप दिन आन्दोलनको प्रारुप निर्माण भएको छ ।
याक्थुङ लिम्बू जातिको संस्कृतिमाथि जारी अतिक्रमणलाई रोक्न र अप्रभंसित भएका विभिन्न मुन्धुमिक, ऐतिहासिक गाउँ–ठाउँको मौलिक नाम पुनस्र्थापित गर्ने अभियानलाई मूर्त रुप दिन भदौ ३० गते फिदिम स्थित चुम्लुङ हिममा सम्पन्न आम भेलाले निर्माण भएका प्रारुप पारित गरेको हो ।

भाषिक तथा साँस्कृतिक अभियन्ता दीलेन्द्र कुरुम्बाङ, चन्द्र कुमार आङदेम्बे, नन्द नेम्बाङ, मंगल बेघा, कमलराज नेम्बाङ, मधुराज केरुङ र राज दिलाञ्जली सम्मिलित प्रारुप निर्माण टिमले तयार पारेको प्रारुप चुम्लुङहीममा सम्पन्न भेलाले पारित गरेको हो ।
भेलाले साँस्कृतिक पुनर्जागरणको अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन मधुराज केरुङको संयोजकत्वमा साँस्कृतिक पुनर्जागरण अभियान मुल समारोह समिती निर्माण गरेको छ ।
मुल समितीको सह–संयोजक गंगामागा आङ्देम्बे, सचिव कमलराज नेम्बाङ र कोषाध्यक्ष सिमा तुम्बापो चयन भएका छन् । मुल समितीमा २२ सदस्य रहेको साँस्कृतिक पुनर्जागरण अभियान मुल समारोह समितीले बिहिबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।

