भोजपुर, ३ असोज । भोजपुर हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष चन्द्रमा राईको निधन भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज बिहान ३ बजे राईको निधन भएको हो ।
हतुवागढी–४ फलामढुङगाकी ४७ वर्षीया राईलाई गत भदौ २९ गतेदेखि सामान्य ज्वरो आएको थियो । सुरुमा प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारमा उपचार गराएर स्वास्थ्य सुधारभए पछि डिस्चार्ज भई घर फर्केकी थिइन् ।
तर, रक्तचापमा समस्या भए पछि उनलाई असोज १ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको थियो । पारिवारिक स्रोतका अनुसार उनमा जन्डिस र रक्तचापको समस्या देखिएको थियो ।
स्थानीय निर्वाचनमा राई नेकपा एमालेबाट उपाध्यक्ष पदमा विजयी भएकी थिइन् ।

