विराटनगर । कोरोना भाइरस संक्रमित एक सुत्केरी महिलाको विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको छ।
मोरङको रतुवामाई नगरपालिका–१० की २५ वर्षीया सुत्केरी महिलाको राति ११ बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए। उनका अनुसार मृतक १७ दिनकी सुत्केरी हुन्। चिकित्सकलाई उद्दृत गर्दै दाहालले दिएको जानकारी अनुसार उपचारका क्रममा मृगौलामा खराबी पाइएको र मृतकमा निमोनियाको पुरानै समस्या थियो।
कोरोना संक्रमणका कारण अवस्था चिन्ताजनक बनेपछि सुत्केरीलाई मंसिर १० गते बुधबार नोबेल शिक्षण अस्पताल भर्ना गरिएको थियो। अस्पतालमा भर्ना गर्दा श्वासप्रश्वासको समस्या थियो भने बिरामी बोल्न नसक्ने अवस्थामा रहेको दाहालले बताए। ‘कोरोना संक्रमित सुत्केरी महिलालाई गम्भीर अवस्थामा भर्ना गरिएको थियो,’ उनले भने, ‘तत्काल आइसोलेसनमा भर्ना गरेर भेन्टिलेटरमा राख्दै उपचार थालेर बचाउने प्रयास गरिए पनि सम्भव भएन।’
बचाउने प्रयास असफल हुँदा उपचारका लागि भर्ना गरेको भोलिपल्टै सुत्केरीको ज्यान गएको जानकारी दाहालले दिए। ‘सुत्केरीमा अलि अगाडि नै कोरोना पुष्टि भएको रहेछ,’ उनले भने, ‘तत्काल उपचारका लागि अस्पताल भर्ना गर्नुपर्नेमा घरमै लगेर होम आइसोलेसनमा राखेको पाइयो।’ अवस्था अन्तिम बनिसकेपछि मात्रै अस्पताल भर्ना गरिएको दाहालको भनाइ छ। निमोनियाको असर र मृगौलामा समस्यासँगै कोरोना संक्रमण पनि थपिएपछि सुत्केरी अवस्थाकी महिलालाई जीवितै घर फर्काउन नसकिएको उनले बताए।
मृतककी दिदीले दिएको जानकारी अनुसार प्रसूति व्यथाले च्यापेपछि महिलालाई झापाको दमकस्थित आम्दा अस्पताल भर्ना गरिएको थियो। आम्दामै कात्तिक २५ गते शल्यक्रियामार्फत प्रसूति गराइएकी बहिनीले छोरी जन्माएको उनको भनाइ छ। दिदीका अनुसार छोरीलाई जन्म दिएपछि अस्पतालबाट डिस्चार्ज पाएर सुत्केरी अवस्थाकी बहिनीलाई घरमा लगिएको थियो।
त्यसको चार दिन बित्न नपाउँदै श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा भर्ना गरिएको उनको भनाइ छ। विराटको आईसीयूमा भर्ना गरेर कात्तिक ३० गते पीसीआर परीक्षण गराउँदा पहिलो रिपोर्ट नेगेटिभ आएको थियो। तर चिकित्सकले उक्त रिपोर्टलाई विश्वास गरेनन्।
सबै लक्षण कोरोनासँग मिल्दोजुल्दो रहेको भन्दै चिकित्सकले पहिलो रिपोर्ट प्राप्त भएको १२ घण्टा पनि बित्न नपाउँदै दोस्रो पटक पीसीआर परीक्षण गर्न लगाएका थिए। दोस्रो रिपोर्ट भने पोजिटिभ आएको मृतककी दिदीले बताइन्। त्यसपछि पाँच दिनसम्म आईसीयूमा उपचार गराएपछि स्वास्थ्य अवस्थामा केही सुधार भएको जानकारी उनले दिइन्।
स्वास्थ्य अवस्थामा सुधार भएपछि र भर्खरै जन्मिकी नानीलाई पनि आमाको आवश्यकता पर्न थालेपछि पारिवारिक सल्लाहमै बहिनीलाई घर लिएर गएको उनको भनाइ छ। ‘स्वास्थ्यमा सुधार हुँदै गएका कारण चिकित्सकसँग सल्लाह गर्दै घरमा होम आइसोलेसनमा राख्ने गरी लगिएको हो। अस्पतालबाट आफै हिँडेर बहिनी गाडीसम्म पुगेकी थिइन्,’ उनले भनिन्, ‘घरमा पुगेर पनि यताउता हिँडडुल गर्थिन्। तर त्यसको केही दिनपछि क्रमस स्वास्थ्य अवस्था बिग्रदै गयो।’
सुरुमा श्वासप्रश्वासको समस्या देखिएकी बहिनीको बोली नै बन्द भएपछि उपचारका लागि नोबेलमा बुधबार भर्ना गरिएको दिदीको भनाइ छ। ‘अस्पताल भर्ना गरेपछि उपचार गर्नेभन्दै आइसोलेसनमा भर्ना गरिएकी बहिनी जीवित रहिनन् भन्ने खबर हामीले पाएका छौं,’ रुँदै उनले भनिन्, ‘उपचारमा पनि केही लापरबाही भए जस्तो छ।’
नोबेलले भने कोरोना परीक्षण रिपोर्ट आफूहरुलाई उपलब्ध नगराएको उनले बताइन्। ‘उपचारकै क्रममा मृगौलामा पनि खराबी देखियो भनेर अस्पतालले हामीलाई भन्यो,’ उनले भनिन्, ‘तर उपचारमा लापरबाही गरेर सुत्केरीको मृत्यु भएपछि अस्पतालले विभिन्न बहाना मात्रै बनाएको जस्तो हामीलाई लागेको छ।’
बिहीबार राति नै बिरामीको मृत्यु भए पनि परिवारका सदस्य र आफन्तलाई शुक्रबार बिहान मात्रै जानकारी दिनुले पनि उपचारमा कमजोरी भयो भनेर शंका गर्ने धेरै ठाउँ रहेको उनले बताइन्।आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

