माङसेबुङ । प्रधानमन्त्री ओलीले असंवैधानिक कदमलाई सुधार गरेर संसद पुनः स्थापना गरेन भने जनताको सडक आन्दोलनबाट अहंकारी ओलीलाई सत्ताच्युत गर्ने जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य लोकसागर साँबाले बताएका छन् ।
मंगलबार इलामको माङसेबुङमा आयोजित जसपा नेपाल माङसेबुङ गाउँपालिकाले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य साँबाले यस्तो बताएका हुन् । साँबाले प्रधानमन्त्री र राष्ट्रपति राज्य सञ्चालन गर्न असक्षम भएको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक, अलोकतान्त्रीक र प्रतिगमन गरी प्रतिनिधि सभा विघटन गरेको भन्दै, नेता साँबाले विगतमा चुनाव जित्नेहरुले मुलुक र जनताको भविष्यमाथि गम्भीर खेलबाँड गरिरहेको बताए । उनले भने, आम जनतालाई हाँस्यकलाकारको अभाव नभई राज्यको नेतृत्व दिने अभिभावकत्व बोकेका नेताको आवश्यक रहेको छ तर प्रधानमन्त्री ओलीमा त्यो क्षमता छैन् ।

नेपाललाई प्रतिगमनतिर लैजान हिन्दु राज्य घोषणा गर्ने रणनीति बन्दै गरेको भन्दै नेता साँबाले थपे, ‘नेपालमा पुनः हिन्दु राज्य घोषणा गर्ने ग्राइन डिजाइनमा ओलीले रातारात संसद विघटन गरेको हो ।’
माजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकतापछि बनेको जनता समाजवादी पार्टी माङसेबुङ गाउँपालिकाको रुपान्तरण कार्यक्रम समेत सम्पन्न भएको कार्यक्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
जनता समाजवादी पार्टी माङसेबुङ गाउँपालिकाका अध्यक्ष किसान खजुमको अध्यक्षतामा सम्पन्न विरोध सभामा जसपा इलाम जिल्ला सदस्य जसहाङ सावदेनले स्वागत मन्तव्य राखेका थिए भने, रविन कुरुम्बाङले कार्यक्रम सञ्चालन गरेका थिए ।

