
इटहरी, १३ चैत्र ।प्रेस मन्च नेपालको आकस्मिक प्रदेश भेलाले आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा सशक्त उपस्थिति जनाउने निर्णय गरेको छ ।
मन्चको शुक्रबार इटहरीमा सम्पन्न आकस्मिक भेलाले महासंघको निर्वाचनलाई परिणाममुखी बनाउने भन्दै यस्तो निर्णय गरेको हो ।
जनता समाजवादी पार्टी निकट पत्रकारहरुको साझा संस्था प्रेस मन्च नेपालको भेलामा उपस्थित पत्रकार नेताहरुले संगठनको सशक्त सहभागिता पत्रकार महासंघमा हुनुपर्ने सुझाव दिएका छन् ।
भेलालाई सम्बोधन गर्दै जसपा केन्द्रीय सदस्य दिपक मेन्याङ्बोले संगठनलाई दर्विलोगरि स्थापित गर्न प्रेस मन्चले महासंघको निर्वाचनमा भाग लिनुपर्नेमा जोड दिए ।
त्यस्तै प्रदेश उपाध्यक्ष राजकुमार यादवले सबै उपायहरु अवलम्बन गरेर भए पनि नतिजा प्रेस मन्चको पक्षमा पार्ने रणनीतिका साथ अघि बढ्न निर्देशन दिए ।

प्रेस मन्च नेपालका सङ्घीय उपाध्यक्ष कमन देवानको अध्यक्षतामा सम्पन्न आकस्मिक भेलामा सहभागी पत्रकारहरुले सके सहमतिमा पत्रकार महासंघको नेतृत्व चयन गर्न भूमिका खेल्ने वा त्यसो हुन नसके तालमेल गरेर भए पनि महासंघमा मन्चको सशक्त सहभागिता रहने गरि अघि बढ्ने निर्णय गरेको प्रेस मन्च नेपाल प्रदेश १ अध्यक्ष फिपराज बेघाले जानकारी दिए ।
भेलाले सबै पत्रकारजन्य संगठनहरुसँग वार्ता र सम्वाद गरेर अघि बढ्ने समेत निर्णय गरेको हो ।जिल्लास्तरमा मन्चका जिल्ला समितिहरुलाई वार्ता र सम्वाद गर्ने अधिकार प्रत्यायोजन गरिएको छ भने प्रदेशस्तरमा आवश्यक सम्वाद गर्न मन्चका सङ्घीय उपाध्यक्ष कमन देवानलाई यस अघि नै मन्चको प्रदेश कार्यदलले जिम्मेवारी दिइसकेको छ ।

