
धुलाबारी । झापाको धुलाबारीमा सम्पन्न प्रदेशस्तरीय रोलिड्ं च्यालेन्ज कपमा टाइब्रेकरमा शिवसताक्षी नगरपालिका स्पोर्टिङ क्लब बिजेता वनेको छ ।
शनिवार धुलावारी माविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा आयोजक रोलिड्ं क्लबलाई ४–३ गोल अन्तरले पछि पर्दै शिवसताक्षीले उपाधि जितेको हो ।
खेलको नतिजालाई दोस्रो हाफको ३५ औं मिनेटमा उल्टाएर शिवसताक्षीले उपाधिसँगै नगद २ लाख हात पारेको छ ।

२–१ ले अगाडि रहेकोे धुलावारीले अन्तिम समयमा आएर शिवसताक्षीमाथि डिएरिया नजिकै फल्ट गरेपछि पाएको फ्रिकिकलाई विकास लामाले उत्कृष्ट प्रहार गर्दै विपक्षीको जाली चुमाउन सफल भए । योसँगै निर्धारित ९० मिनेटको खेलमा २–२ को बराबरी भएपछि नतिजाका लागि खेल सोझै टाइब्रेकरतर्फ धकेलिएको थियो ।
टाइब्रेकरमा आयोजककातर्फबाट कप्तान पुजन उपरकोटीको पहिलो प्रहार पोष्टबारबाट बाहिरियो । शिवसताक्षीका विकास लामाको प्रहारलाई रोलिङका गोलरक्षक सूर्य घिमिरेले बजाउ गरेपनि टिमलाई जिताउन सकेनन् । रोलिङका लागि विकास थुलुङ, कोमल खवास, निशेन सुब्बाले गोल गर्दा शिवसताक्षीका लागि युसुफ थपलिया, संजोग महर्जन, जनक कोइराला र रोशन दोङले गोल गरे ।

फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका शिवसताक्षीका जनक कार्की म्यान अफ दी म्याच बन्दै नगद १० हजार प्राप्त गरे । त्यस्तै प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिएको छ ।जसमा बेष्ट डिफेन्स आयोजक रोलिङका दिवस उराउ, बेष्ट मिडफिल्डर शिवसताक्षीका रोहन कार्की, बेष्ट स्ट्राइकर रोलिङका विदेशी खेलाडी फोफोना, बेष्ट गोलरक्षक शिवसताक्षीका विवेक राई बने । उत्कृष्ट सबैले जनही नगद १० हजार हात पारे । साथै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका आयोजक रोलिङका कप्तान पुजन उपरकोटीले नगद १५ हजार प्राप्त गरे ।

विजेतालाई कार्यक्रमका अतिथिहरु झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, मेचीनगर वडा नम्बर १० का अध्यक्ष सुदयकुमार पनेरु, वडा नम्बर ९ का अध्यक्ष गोपाल खड्का, वडा नम्बर १५ का अध्यक्ष राजन भट्टराई, वडा नम्बर ५ का अध्यक्ष योगेन थापा मगर, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल दाहाल, इप्रका धुलावारीका प्रहरी निरीक्षक विकास राई, कार्यपालिका सदस्य कृष्ण कनाल, पुरस्कार सौजन्य गर्ने विभिन्न ब्यक्तित्वहरुले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे ।

आयोजक क्लबका अध्यक्ष नोमेम्बर नेम्बाङको अध्यक्षमा सम्पन्न पुरस्कार वितरण तथा समापन समारोहको सञ्चालन क्लबका सचिव महेश खड्काले गरेका थिए ।

