देवेन्द्र सुर्केली,
धरानमा वर्षेनी विमल गुरुङ स्मृति राष्ट्रिय कविता महोत्सव हुने गर्दछ । र, यस प्रतियोगितामा पुरस्कृत कविहरूले नेपाली कविताजगतमा राम्रै स्थान जमाउने गर्दछन् । जगत नवोदित, प्रदिप मेन्याङ्बो, स्वप्नील स्मृतिलगायतका धेरै कवि–कवियित्रीहरूले यस पुरस्कारमाथि हक जमाइसकेका छन् । उनीहरू नेपाली साहित्यजगतका हस्ती पनि बनिसकेका छन् ।
वि.सं. २०६७ को कविता महोत्सवले प्रकाश दिप्साली राईलाई प्रथम बनायो । २०६५ सालमा पनि अगाडि उनी उत्कृष्ट १० भित्र थिए । त्यसो त उनी भोजपुर जिल्लास्तरीय कविता प्रतियोगिता –२०६७ मा प्रथम भइसकेका पनि हुन् । उनी राम्रा कवि हुन्, भविष्यमा उनको कविताले तहल्का मच्चाउने छ । धेरै स्थापित कविहरूको भिडमा यो एउटा सानो समाचार मात्र हो । तर मलेसियाका नेपाली पाठकको लागि धेरै ठूलो समाचार हो । किनभने मिराकले मलेसियाको भूमिलाई पनि कर्मभूमिको रूपमा अंगालीसकेका छन् । मलेसियाको बसाइँ छोटो तर महत्वपूर्ण काम गरेर नेपाल फर्किएका मिराकले साहित्य जगतमा यति ठूलो फड्को मार्नु मलेसियामा साहित्ययात्रा गर्नेहरूको लागि एकदम शुभसमाचार हो ।
मलेसियामा उनी ३ वर्ष मात्र बसेका छन् । तर त्यो ३ वर्ष उनको लागि ३ दशक बराबर भएको छ । उनका लेखनले अझै पनि कहिकतै ति परदेशी विम्बहरू बिर्सिएका छैनन् । उनलाई पनि मलेसियाका धेरैभन्दा धेरै साहित्यिक मनहरूले मनमुटुमै सजाएका छन् ।
उनले केही समय मिराक फुर्को पनि जोडेका थिए । ‘मि–राक’ अर्थात आगोको ज्वाला । प्रसिद्ध लेखक सीके लालले ‘भाषिक साहित्यले देशमा आगो लगाउने छ, पराल हो भने डढेर सकिन्छ, सुन हो भने झनै राम्रो बनाउँछ’ भनेजस्तै नाममै मिराक फुर्को जोडेर अगाडि बढेका छन् –प्रकाश । बान्तवा राई भाषिक दिप्साली पाछाका टीकाराम दिप्साली र दौलथमाया नुम्निहाङको कोखबाट वि.सं. २०४० सालमा उनले जन्म लिएका हुन् । साहित्यमा आगो बाल्ने श्रवण मुकारुङ तथा राजन मुकारुङहरू जन्मिएकै जिल्ला भोजपुरको वोया उनको जन्मस्थान हो ।
पहाडी भेग; हिउँदमा ठिहीले स्यूँस्यूँ कमाउने, वर्षामा भेलबाढीले बगाउने । सानो छु भनेर भन्न नपाइने, डाँडाकाडाँमा घासदाउराको लागि कुद्नैपर्ने । उकालीओरालीमा गर्नुपर्दा दुःख हो कि हर्षले भञ्ज्याङ थर्किनेगरी गीत गाइदिँदा स्वभावैले मनहरू विरहमा डुबे होलान्, साहित्यका धर्साहरू मनभित्रै रेखाङ्कित भए होलान् । पहाडी लेकबेशीमा कति दुःख गर्नु हौं भनेर बुबाआमाले समथर भूमि खोज्ने क्रममा भर्खरै विहिबारे प्राविमा कक्षा ५ पढ्दै गरेका १० वर्षे प्रकाश मोरङको याङसिला सतिसाले झर्न पुगे । समथर भूमि त के भन्नु ? उत्तरी मोरङको ढुंगेघारी जहाँबाट तराईको शुरुवात त हुन्थ्यो तर पहाडको फेदी परेकाले वोया र सतिसाले एउटै लाग्थ्यो । तीस चालिस दशकका युवायुवतीहरूमाथि अविभावकको चिन्ता नै पढाई हुन थालेको अवस्थाकै कारणले जहाँ पुगे पनि पढ्नुपर्ने या स्कुल पायकको क्षेत्र नै रोज्ने गर्दथे । प्रकाशले पनि सतिसाले नजिकैको याङसिलास्थीत श्री सावित्री माविमा अध्ययन शुरु गरे ।
सँगै हुर्केको पहाड छोड्नुपर्दाको मन या त बाझ्नेजुध्ने साथीसंगीको यादले गर्दा उनको मनमा निकै दुन्दुभि चल्यो । त्यो दुन्दुभि कविमनको रूपमा उदायो । जसलाई नेपाली शिक्षक बासुदेव पौडेलले गोडमेल गर्न सघाए अनि समकालिन साहित्यकार विर्ता माञ्जीसँगको सहकार्यले साहित्ययात्रा सार्थक बन्दै गयो । गुञ्जन रेडियो श्रोता क्लव याङसिला मोरङको संस्थापक महासचिव र ‘साहित्य संगालो’ नामक मासिक भित्ते पत्रिकाको सम्पादन गरिरहेको याङ्सिलाको ढुंगेघारीमा हुर्कदो उमेरमा फेरि ठेस लाग्यो । उनको परिवार सुनसरीको भरौलमा बसाइँ स¥यो । तर साहित्ययात्रा त जसरी नै बढेको थियो, उसैगरी बढिरह्यो । उनले लेखेका नाटकहरू कर्तव्य (२०५८), सानो घर (२०५९) र सक्षम उम्मेदवार (२०६०) दशैं तथा नयाँ वर्षहरूमा मञ्चित हुन थालिसकेका थिए ।
कवि स्व. स्वप्निल स्मृतिले आफ्नो कवितामा भनेका छन् –‘सोल्टिनीको पछि लाग्दा वित्थामा एसएलसीमात्र बिग्रियो ।’ साहित्यको पछि लाग्ने प्रकाश दिप्सालीको पनि उही हाल भयो । घरको जेठा छोरा उनलाई परिवारले सल्लाह गरेर विदेश पठाउने योजना गरे । २२ वर्षे लक्का जवान भएको बेला उनी मलेसिया भित्रिए । बातुपहातको बातु तिगा भन्ने ठाउँको एलवाई फर्निचर एसडीको कर्मचारी बन्न पुगे ।
गर्ने मान्छेलाई कहि पनि छेक्दैन भनेजस्तै भयो उनको जिन्दगीमा । मलेसियामा नेपाली पत्रपत्रिकाहरू प्रकाशित भइरहेका थिए । आफ्ना मनका वह पोख्ने ठाउँ प्रशस्त भइहाल्यो । नेपाल श्रमिक संगठन नामक संस्था आइपुग्यो उनको कम्पनीमा । र, उनलाई सहसचिवको रूपमा चुन्यो । संगठनले केही त गर्नैपर्छ भनेर ‘मुग्लानी चिनो’ नामक साहित्यिक संगालो प्रकाशन जमर्को गरे । छिट्टै नै उनको सम्पादकत्वमा संगालो प्रकाशित भयो । त्यसभन्दा अगाडि ‘विम्ब’ संयुक्त गजल संग्रहमा उनी अटाइएर आइसकेका थिए ।
साहित्यिक गतिविधिले मात्र चित्त नबुझी ‘प्रवासी पूर्वेली वचत समूह’ नामक एक संस्था बनाएर कम्पनीमा अंगभंग भएका, मेडिकल फेल भएर नेपाल फर्कनुपरेका तथा मृत्यु भएकालाई सहयोग गर्न थाले । समूहका सदस्य बिचैमा नेपाल फर्कनुपरे के कति बचत भएको छ, व्याजसमेत हिसाब गरी शेयर कट्टा गरेर फर्काइन्थ्यो ।
यसो गरौं, उसो गरौं भन्दाभन्दै तीन वर्ष बित्न के बेर ? यस्तै भयो दिप्सालीको श्रमिक यात्रामा । नेपाल फर्कने लर्कोमा उनी पनि परे । नेपाल फर्केर केही गर्ने योजना बुनेरै उनी फर्किए ।
फर्किएपछिको उनको प्रगतिको फेहरिस्त निकै लामो छ । सर्वप्रथम त धरानमा रहेको प्याफिसिक एकेडेमीमा प्राइभेट एसएलसी दिए । त्यहाँ उतीर्ण भएपछि महेन्द्र उच्चमावि चक्रघट्टी सुनसरीबाट +२ सिध्याए । उनले जनता बहुमुखी क्याम्पस इटहरीबाट स्नात्तकोत्तर पूरा गरिसकेका छन् । स्वर्णिम साहित्य समाज भरौलको स्थापना गरी संस्थापक सचिव र हाल अध्यक्ष छन् । जुन संस्थाले नेपालका राम्रा साहित्यकारको नजरमा भरौल भन्ने ठाउँ चिनाइदिन सफल भएको छ । उक्त संस्थाबाटै ‘भरौल दर्पण (२०६६)’ नामक गाउँ चिनाउने स्मारिका पनि प्रकाशन गरेको छ । जसको सम्पादक पनि दिप्साली नै हुन् । त्यसैगरी प्रस्फुटन संयुक्त गजल सङ्ग्रह (धरान) पनि सम्पादन गरेका छन् । कोरोनाकहरमा दुनियाँ लकडाउनमा बसिरहेका बेला उनले ‘लकडाउन सर्जक र सिर्जना’ भन्ने फेसबुक अभियान चलाए । उक्त अभियानमा छाएका सिर्जनाहरूलाई एकीकृत पुस्तकका रूपमा ल्याउने सल्लाहमुताविक पुस्तकका रूपमा सम्पादन गरी प्रेसमा पठाएका छन् । र, हालको निषेधाज्ञा समयमा सर्जक पत्रकारको सिर्जना र परिचयलाई सार्वजनिक गर्दै आएका छन् । पत्रकारहरु सर्जक पनि थिए र छन् भन्ने यस अभियानले सन्देश दिनेछ भन्ने उनको उद्देश्य हो ।
‘सिर्जना’ नामक गीतिएल्बमको लागि उनले दुईवटा गीत लेखेका छन् उनले । रामबाबु राई र कविराज राईले गाएको गीतलाई रामबाबुले संगीत दिएका हुन् । सुगम संगीतमा रहेको उनको गीत धेरै श्रोताहरूले रुचाएको बताउँछन् । त्यसैगरी धरानको विजयपुर एफएममा ‘प्रस्फुटन’ नामक साहित्यिक कार्यक्रम पनि लामो समय चलाए । प्रत्येक सोमबार राती ८ बजे र मंगलबार बिहान १० बजे प्रशारित हुने कार्यक्रमले उनलाई नयाँ पुराना साथीहरूलाईसँग भेट गर्ने थलो पनि बनाइदिएको थियो ।
वि.सं. २०६७ सालमै उनले ‘घायल बस्ती’ नामक कविता संग्रह बजारमा ल्याएका छन् । ३२ वटा कवितालाई सुधा लिट्रेचर ग्रुपले प्रकाशन गरिदिएको हो । आदिवासीय सौन्दर्यचेतमा लेखिएको कविताले उनको नामजस्तै आगाका लप्काहरू ओकलेका छन् ।
जिविकोपार्जनको लागि सिद्धार्थ मेमोरियल इङलिस स्कुलमा अध्यापन गराइरहेका उनको पारिवारिक माहौल पनि साहित्यमय नै भएको छ । श्रीमती शान्तिकुमारी लिम्बू साहित्यमा राई कलायात्रीको नामले परिचित दिप्सालीहरूले ‘पूर्वाञ्चल गजल हस्ताक्षर’ नामक संयुक्त गजल संग्रह २०६९ मा प्रकाशित गराइरहेकै बेला राई कलायात्रीहरूले ‘पूर्वाञ्चल नारी गजल हस्ताक्षर’ प्रकाशन गरे । छोरी प्रकृति राई र छोरा निनामहाङ राईसहितको सुखी परिवार छ उनको । अझै युवा छन्, भविष्यको लागि केही त अवश्य सोचेका छन् । तर तत्काल भने नेपालमै रहेर पत्रकारिता र साहित्यकारितामा जम्ने उनको रहर छ ।