माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले संचालन गरेको ‘उज्यालो घर अभियान’ अन्तरगत वडा नम्बर ३ मा विद्युत विस्तारको काम तीब्र पारिएको छ । वडाको सबै टोल वस्ती र घरमा राष्ट्रिय प्रशारण लाइनको विद्युत विस्तार गरिसक्ने नीति अनुसार विद्युत विस्तारको काम तीब्र बनाइएको वडा अध्यक्ष मैतराज राईले जानकारी दिए ।
नेपाल विद्युत प्राधिकरणसँगको समन्वयमा वडाको विभिन्न टोलमा अहिले विद्युत विस्तारको काम भइरहेको छ । चतुरेदेखि गुरुङगाउँसम्म १९ वटा एच टी लाइनको पोल गाड्ने काम भइरहेको छ । गुरुङगाउँदेखि सिङलाबुसम्म २२ वटा एल टी लाइनको पोल, चतुरेदेखि सुवाचेनसम्म १५ वटा वटा एल टी लाइनको पोल, फोमी भ्यु होटल एण्ड रेस्टुरेन्टदेखि कुटेबारीसम्म १२ वटा एल टी लाइनको पोल गाड्ने काम भइरहेको छ ।
त्यस्तै ढुङेदेखि ज्यामिरेसम्म ५ वटा एल टी लाइनको पोल, सामाटारदेखि भाङटारसम्म ८ वटा एल टी लाइनको पोल, चिवुवादेखि सिम्लेसम्म १५ वटा एल टी लाइनको पोल, नवमीदेखि बगरे हुँदै वडा नम्बस ६ को मालबाँसेसम्म १५ वटा एल टी लाइनको पोल र उत्तरेमा २० वटा एल टी लाइनको पोल गाड्ने काम भइरहेको छ ।
त्यस्तै चालु आर्थिक वर्ष गाउँपालिकाको १५ लाख रुपैयाँबाट चिवुवा र ढुङे ज्यामिरेमा समेत विद्युत विस्तारको काम भइरहेको छ । चिवुवामा १३ लाख र ढुङे ज्यामिरेमा २ लाख रुपैयाँको लगानीमा विद्युत विस्तार भइरहेको छ ।
उल्लेखित क्षेत्रमा चालु आर्थिक वर्षसम्म सम्पन्न गर्ने गरी काम भइरहेको वडा अध्यक्ष राईले जानकारी दिए । विद्युत विस्तार गरिसक्दा वडाका करिब ३ सय बढी घर अँध्यारोमुक्त हुने राइले बताए ।
यो आयोजना सम्पन्न हुँदा वडाका करिब २८ घरधुरीमा मात्र केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार हुन बाँकी रहनेछ । खुन्द्रुका र ताँवुवा टोलका २१ घर, गुप्ती टोलका २ र बाघमारा टोलका ५ घरमा विद्युतीकरण हुन बाँकी रहनेछ । ती टोलमा समेत आगामी वर्षसम्ममा अँध्यारोमुक्त बनाउने राई बताउँछन् ।
‘अहिले योजना नपरेका टोलमा समेत आगामी वर्षसम्ममा हामी केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार गरेरै छाड्नेछौं । त्यसका लागि सम्बन्धित निकायसँग समन्वय समेत भइरहेको छ’ वडा अध्यक्ष राईले भने, ‘केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार हुन नसक्ने क्षेत्रमा वैकल्पिक उर्जा प्रवर्द्धन कार्यक्रमसँग समन्वय गरेर सोलार वितरण गर्नेछौं ।’
८ सय २४ घरधुरी रहेको सो वडाका करिब साढे ४ सय घरधुरीमा यसअघि नै केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार भइसकेको छ । त्यस्तै भौगोलिक वनावटका कारण केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार हुन सम्भव नभएका १५ घरमा वैकल्पिक उर्जा प्रवर्द्धन कार्यक्रम अन्तरगत सोलार प्यानल वितरण गरिएको थियो ।
यसअघि आव २०७५।०७६ मा मानपुर-ढुङेचतुरे-सामाटार-लाक्तामा गाउँपालिकाबाट २८ लाख ५० हजार, लाक्तपा र कामीटरमा गाउँपालिकाबाट ५/५ लाख, आव २०७६।०७७ मा संघीय सांसद विकास कोषको पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत लामिटार-दुम्से-रतुवा बेंसी-कोप्चेमा ५० लाख, वडा नम्बर ६ को कुसुण्डेदेखि ३ को घर्तिदोभानसम्म गाउँपालिकाबाट ५ लाख रुपैयाँ विनियोजन भएको थियो । ती रकमबाट विद्युत विस्तार भएको थियो ।
६ वटा वडा रहेको माङसेबुङमा हालसम्म वडा नम्बर ५ बाहेक अन्य वडाको सबै घरधुरीमा राष्ट्रिय प्रशारण लाइनको विद्युत विस्तार हुन सकेको छैन ।
गाउँपालिकाले सबै घरमा राष्ट्रिय प्रशारण लाइनको विद्युत विस्तार गर्ने लक्ष्यका साथ २०७४ देखि नै ‘उज्यालो घर अभियान’ सुरु गरेको थियो । अभियान संचालनका क्रममा सबै क्षेत्रसँग आवश्यक समन्वय र सहकार्य गरिएको गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताए ।
गाउँपालिकाको सो अभियानलाई सार्थक र सफल बनाउन नेपाल विद्युत प्राधिकरण, प्रदेश सांसद, प्रदेश सरकार, संघीय सांसद र संघीय सरकारसँग आवश्यक सहयोग र सहकार्य गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
अभियान अन्तरगत गाउँपालिकाको विद्युत विस्तार हुन बाँकी रहेको प्रत्येक टोल वस्ती र घरहरुमा राष्ट्रिय प्रसारण विद्युत लाईन पुर्याउने लक्ष्य राखी उच्च प्राथमिकताका साथ काम गरिने गाउँपालिकाले स्वीकृत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।
गाउँपालिकाको केही भागमा भूवनावटका कारण विद्युतको राष्ट्रिय प्रशारण पुर्याउन सम्भव नभएको टोल, वस्ती र घरमा ग्रामीण क्षेत्रका लागि नवीकरणीय उर्जा र वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रसँग समन्वय र सहकार्यमा सौर्य उर्जामार्फत उज्यालो घर अभियान सफल बनाइने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।