बिराटनगर, ७ भदौ ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले प्रदेश नम्बर १ मा भदौ ९ गते आयोजना गर्न लागेको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।जसपा प्रदेश समिति, प्रदेश नम्बर १ कार्यालयले दिएको जानकारी अनुसार प्रदेशस्तरीय अभिमुखीकरणका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको हो ।
बिराटनगरस्थित मारवाडी सेवा सदनको सभाहलमा सम्पन्न हुने कार्यक्रममा कोभिड १९ को जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य सतर्कताका साथ सम्पन्न गरिने जसपा प्रदेश नम्बर १ अध्यक्ष प्रवीण चाम्लिङले जानकारी दिए ।कार्यक्रम सफल पार्न सोमबार प्रदेश सभास्थित जसपा संसदीय दलको कार्यालयमा पार्टीका उपलब्ध प्रदेश पदाधिकारीहरुले कार्यक्रमको तयारी बारे छलफल गरेका थिए । कार्यक्रम सम्पन्न गर्न सकारात्मक ढङ्गले काम बाँडफाँड गरिएको जसपा प्रदेश संसदीय दलका नेता जयराम यादवले बताए ।
छलफलमा प्रदेश उपाध्यक्षद्वय उमेश थापा र राजकुमार यादव, सचिव भरत दाहाल, सदस्य राम माण्डुपा राई लगायत सहभागी थिए ।अभिमुखी कार्यक्रममा पार्टीका केन्द्रीय समिति, निकाय, विभाग र सङ्घीय परिषद्का सदस्यहरु, प्रदेशका पदाधिकारी, निकाय प्रमुख र सदस्यहरु, पहिचानमा आधारित राष्ट्रिय समितिका पदाधिकारीहरु, जिल्ला समन्वय समितिका पदाधिकारीहरु, मोरङ जिल्ला समन्वय समिति र जनवर्गी संगठन र महासंघका घटक संगठनका प्रदेश पदाधिकारी भन्दा माथिका नेता कार्यकर्ताहरु सहभागी हुने बताइएको छ ।
सोमबार नै जसपा केन्द्रीय कार्यकारिणी समितिले परिपत्रमार्फत वक्ताहरुको पनि टुङ्गो लगाएको छ । जारी परिपत्रमा अभिमुखीकरण कार्यक्रमका लागि जसपा केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोककुमार राई, कार्यकारी समिति सदस्यद्वय महिन्द्र राय यादव र सुशीला श्रेष्ठलाई प्रमुख वक्ता तोकेको छ ।कार्यक्रम पार्टीका प्रदेश अध्यक्षको अध्यक्षतामा सम्पन्न हुने समेत परिपत्रमा उल्लेख छ ।