adv

प्रदेश १ गठबन्धन दलले भन्यो– भीम आचार्यको नियुक्ति बदर गर !


दमक, १७ भदौ ।
 प्रदेश नम्बर १ मा गठबन्धन दलहरुले मुख्यमन्त्री भीमप्रसाद आचार्यको नियुक्ति असंवैधानिक भएको भन्दै तत्काल बदर गर्न माग गरेका छन् ।

बिहीबार प्रदेश सभा सचिवालयमा बसेको गठबन्धन दलको बैठकले विज्ञप्ति नै जारी गरेर यस्तो माग गरेको हो ।

बैठकमा नेपाली काङ्ग्रेस प्रदेश संसदीय दलका नेता राजीव कोइराला, नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् प्रदेश सभा सदस्य राजेन्द्र राई र जनता समाजवादी पार्टी, नेपाल प्रदेश संसदीय दलका नेता जयराम यादवले संयुक्त हस्ताक्षर गरेका छन् ।

एमाले पार्टी विभाजन भएर भदौ ९ गते नेकपा (एकीकृत समाजवादी) निर्वाचन आयोगमा दर्ता भएसँगै प्रदेश सभाका ४ जना सांसद् नयाँ दलमा केन्द्रीय सदस्य रहेबाटै एमाले अल्पमतमा परेको जिकिर गठबन्धनको छ ।

गठनबन्धन दलहरुले भदौ १० गते मुख्यमन्त्री शेरधन राईले राजीनामा दिने र भीमप्रसाद आचार्यलाई मुख्यमन्त्रीमा सपथ गराउने प्रदेश प्रमुखको निर्णय असंवैधानिक भएको विज्ञप्तिमार्फत जनाएका छन् ।

हाल एमालेका १० जना प्रदेश सभा सदस्यहरुले नेकपा एकीकृत समाजवादीमा रहने भनी सनाखत गरेबाट पनि आचार्य नियुक्ति प्रकरण गलत भएको प्रमाणित हुने गठबन्धनको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ –यो प्रदेश सभामा बहुमत गुमाइसकेर अल्पमता परेको र असंवैधानिक तवरले नियक्ति भएको सरकारले कुनै पनि दुगामी असर पर्ने निर्णय नगर्न नगराउन सम्बनिधत सबैमा आग्रह गर्दछौं ।

विज्ञप्तिमा गठबन्धनालई प्रदेश सभामा समेत थप सशक्त र एकताबद्ध बनाएर अघि बढ्ने उल्लेख छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी प्रदेश सभा सदस्य विष्णु तुम्बाम्फे भने हाल काठमाडौंमा रहेकाले संयुक्त विज्ञप्तिमा उनको हस्ताक्षर नरहेको गठबन्धनका नेताहरुले जिकिर गरेका छन् ।
माओवादी केन्द्रका नेता आङ्बोले भने –‘माननीय विष्णु तुम्बाम्फे काठमाडौं हुनुभएकोले सहभागी हुन सक्नु भएन । उहाँ पनि गठबन्धनमै हुनुहुन्छ ।’

९३ सदस्यीय प्रदेश सभामा अहिले एमालेबाट निर्वाचित एक सदस्य फौजदारी अभियोग प्रमाणित भएर निष्कासित भएसँगै ९२ जना छन् । जसमा एमालेबाट एक जना सभामुख बाहेक ३९ सदस्य छन् । गठबन्धन दलतर्फ नेपाली काङ्ग्रेससँग २१, नेकपा माओवादी केन्द्रमा १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ प्रदेश सभा सदस्य गरी ५० जना छन् ।

गठबन्धनमा नरहेको राप्रपाको एक सदस्य छ ।
प्रदेश नम्बर १ मा सरकार गठनको लागि ४७ सदस्य आवश्यक पर्दछ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु