adv

ग्रामिण क्षेत्रमा ब्याड्मिन्टनको मोह

सजन राई । माङसेबुङ । ग्रामिण क्षेत्रमा पनि ब्याड्मिन्टन खेलको मोह बढ्दै गएको देखिन्छ । पछिल्लो समय शहर होस या गाउँघरमा ब्याड्मिन्टन खेल्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको पाइन्छ । यस कुराले पनि ब्याड्मिन्टन खेल प्रतिको मोह बढ्दै गएको पुष्टि हुन्छ ।

गाउँघरमा खेल प्रतियोगिता भन्ने वितिकै प्राय जसो फुटबल र भलिबल प्रतियोगिता हुने गरेको पाइन्छ । स्थानीय सरकारको खेलकुद विकास समितिले पनि यी दुई खेललाई नै प्राथमिकता दिएर प्रतियोगिता गराईरहेको पाउन सकिन्छ । तर ग्रामिण क्षेत्रमा पनि ब्याड्मिन्टन खेल प्रतिको मोह र खेलाडिहरुको उत्पादन संख्या बढ्दै गएको वर्तमान समयमा माङसेबुङ गाउँपालिका वडा नं. ३ स्थित समृद्धि टोल विकास संस्थाले मेन्स डबल ब्याड्मिन्टन प्रतियोगिता आयोजना ग¥यो ।

खेल असोज २५ र २६ गते २ दिनसम्म चलेको सो प्रतियोगिताको उपाधि माङसेबुङ २ चित्रेका रजन राई र सुमन राईले हात पारेका थिए । विजेता टिम चित्रेले २१-१५, २१-१५ को सोझो सेटमा माङसेबुङ ६ रक्सेलाई पराजित गर्दै उपाधि हात पारेका थिए ।
उपाधिसँगै विजेता टिम चित्रेले १० हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरे भने दोस्रो स्थानमा समेटिएको माङसेबुङ ६ रक्सेका मधु राई र सजन राईले नगद ५ हजार सहित मेडल र प्रमाण पत्रमा चित्त बुझाएका थिए ।

स्थानीय युवाहरुको सक्रियतामा आयोजित सो प्रतियोगितामा निजि स्रोतको लगानिमा प्रतियोगिता सम्पन्न भयो । स्थानीय सरकारले खेलकुद शीर्षकमा बार्षिक रुपमा बजेट बिनियोजन गर्दै आएको रकम फुटबल र भलिबल खेलमा मात्र सिमित भएकोले स्थानीय स्रोतको भरमा खेलको आयोजना गर्नु परेको खेल संयोजक सुनिल राईले बताए ।

प्रतियोगितामा आयोजकले सोचे भन्दा धेरै खेलाडी र दर्शकहरुको उपस्थिति हुदाँ फेरि पनि यस प्रकारका प्रतियोगिताहरुको आयोजना गर्न हौसला र हिम्मत बढेको आयोजक समितिका सदस्य बिनम्र सुनुवारले बताए ।

जनप्रतिनिधि, शिक्षक, राजनीतिज्ञ, मिडियाकर्मि, नेपाल प्रहरि, समाजसेवि, बुद्धिजिवि लगायत स्थानीयको उपस्थितिमा सो प्रतियोगिता सम्पन्न भएको थियो । स्थानीय जिवन ज्योति माध्यिमक विद्यालयका शिक्षक पर्वत राईले खेल मैदान उपलब्ध गराएको र सो मैदानमा प्रतियोगिता सम्पन्न भएको समितिका सचिव मंगेश राईले बताए ।

प्रतियोगिताको औपचारिक कार्यक्रममा समृद्धि टोल विकास संस्थाका अध्यक्ष देउ बहादुर देवानको अध्यक्षतामा तथा माङसेबुङ गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष मैतराज राईको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा माङसेबुङ खेलकुद समितिका कुमार राई, प्रविण लिम्बु, वडा नं. ३ का वडासदस्य इन्द्र सम्बाहाम्फे, अग्रज खेलाडी तथा अम्पायर अशोक राई, समाजसेवी डिल्ली राजालिम, सुर्य राई, पर्वत राई, अग्रज व्यक्तित्व टिकाराम राई लगायतको उपस्थिति रहेको कार्यक्रम समितिका सल्लाहकार एलिसा राईले सञ्चालन गरेका थिए ।

सो प्रतियोगितामा माङसेबुङ वडा नं. २, ३, ६ र ५ का १५ टिमको सहभागिता रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु