माङसेबुङ । इलामको माङसेबुङमा संचालित आत्मानन्द कपको १४ औं संस्करण फूटबल प्रतियोगिताको उपाधि घरेलु टिम माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिले जितेको छ ।
शुक्रबार भएको फाइनलमा बिबिएफसी दमक झापालाई सडेन डेथमा पराजित गर्दै माङसेबुङले उपाधि चुमेको हो ।
निर्धारित समयमा गोलरहित बराबरीमा खेल सम्पन्न भएपछि टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत ४–४ गोलको बराबरी भएपछि सडेन डेथको आधारमा विजेता निर्धारण भएको थियो ।

सुरुदेखि नै विपक्षीलाई दवावमा राख्न सफल भएको दमकले गोल गर्न नसकेपछि उपविजेतामा नै चित्त बुझाउन बाध्य बन्यो । दोश्रो हाफको १२औं मिनेटमा माङसेबुङका गोलरक्षक आयुस लिम्बूले रेडकार्ड पाएर बाहिरिएपछि ८ खेलाडीमा सीमित माङसेबुङलाई झापालाई दवावमा राखेपनि गोल गर्न सकेन ।
रक्षात्मक नीति अपनाएको खेलेको माङसेबुङले निर्धारित समयसम्म खेल बराबरीमा रोक्न सक्नु नै माङसेबुङका लागि जितको आधार तय भएको थियो ।
जितसँगै माङसेबुङले नगद ३ लाख १ सय ६८ रुपैयाँ प्राप्त गरेको छ । उपविजेता दमकले नगद २ लाख १ सय ६८ रुपैयाँमा चित्त बुझाएको छ ।

त्यस्तै उत्कृष्ठ गोलरक्षक विजेता टिमका आयुस लिम्बू, उत्कृष्ठ डिफेण्डर विजेताकै रोनिस राई, उत्कृष्ठ खेलाडी विजेताकै प्रविन राई र सर्वाधिक गोलकर्ता उपविजेता टिमका किस्मत लिम्बू घोषित भए ।
किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६८ औं जन्मोत्सवका अवसरमा ११ मंसिरदेखि संचालित प्रतियोगितामा पूर्वका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहेको थियो ।