adv

झापा गोल्ड २०७८ को मस्कट,नारा र गीत सार्बजानिक

बिर्तामोड,५ फागुन । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्ड कपको पाँचौँ संस्करणलाई अझ उत्कृष्ट, भव्य र परिष्कृत बनाउन पहिलोपटक औपचारिक गीत निर्माण गरेर सार्वजनिक गरिएको छ । झापाको भूगोल र यहाँको फुटबलप्रतिको लगावलाई समेट्दै जिल्लालाई फुटबल हबको रुपमा विकास गर्ने उद्देश्यले गीत निर्माण गरिएको गोल्डकप समितिको भनाई छ ।

गोल्डकप यही फागुन २१ गतेदेखि ३० गतेसम्म बिर्तामोड नगरपालिका–३ स्थित डोमालाल राजवंशी रंगशालामा आयोजना हुन लागेको छ। गोल्डकपलाई उत्कृष्ट, भव्य र परिष्कृत बनाउन पहिलोपटक औपचारिक गीत निर्माण गरिएको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले बताए। गीतकार बसन्त थाम्सुहाङको रचना रहेको गीतमा पारस मुकारुङले संगीत भरेका छन् भने उक्त गीतमा गायक डम्बर नेपाली, भीषण मुकारुङ, सुनिता थेगिम र दिपा लामाको स्वर रहेको छ । त्यस्तै, पाँचौँ झापा गोल्ड कपको औपचारिक मस्कटका रुपमा हात्तीको छावालाई प्रतिनिधित्व गराइएको छ । छावाले फुटबल किक गर्दै गरेको प्रतिकका रुपमा मस्कट निर्माण गरिएको छ । मस्कटको निर्माण कलकार पवन राजवंशीले गरेका हुन् । यो वर्षको झापा गोल्डकपको नारा ‘हाम्रो गौरव हाम्रो मान, झापा गोल्डकप हाम्रो शान’ तय गरिएको छ ।

झापाबासीकै प्रतिष्ठासँग जोडिएको सो प्रतियोगितालाई सानदार ढंगले सफल बनाउन झापाली उद्योगी, व्यवसायी र खेलप्रेमी महानुभावहरु पत्रकार, मिडिया हाउसहरुको भूमिका महत्वपूर्ण रहने भएकोले सम्पूर्ण उद्योगी, व्यवसायी, पत्रकार साथीहरुलाई साथ र सहयोगको लागि अपील पनि गरिएको छ ।

झापा गोल्ड कपका अध्यक्ष बिनोद बस्नेतद्वारा हस्ताक्षरित तथा पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा भनिएको छ, ‘झापा गोल्डकपलाई एउटा सामाजिक तथा स्थापित संस्थाको रुपमा अगाडि बढाउन र जिल्लामा नै अगुवा संस्थाको रुपमा चिनाउन सबैखाले सामाजिक अभियानसँग जोडेर आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व सहितको रचनात्मक कार्यहरुमा यस संस्थालाई सक्रियताका साथ अगाडि बढाउने प्रतिबद्धता गर्दछौँ ।’

प्रतियोगितामा सहभागी हुने टिमको टुंगो लगाउने कार्य भइरहेको गोल्डकपका संरक्षक जलकुमार गुरुङले जानकारी दिए ।

प्रतियोगितामा आयोजक झापा ११ फुटबल क्लबसहित नेपालका ए डिभिजन क्लब, मोफसलका एक वा दुई क्लब र विदेशी क्लबको सहभागिता रहनेछ।

झापा गोल्डकपको विजेताले १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ प्राप्त गर्ने छ। त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही २१ हजार र उच्च गोलकर्तालाई २५ हजार रूपैयाँ प्रदान गरिनेछ। प्रत्येक खेलको म्यान अफ द म्याचलाई ९ हजार ९९९ रुपैयाँ दिइने आयोजकले जनाएको छ। गोल्डकप सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु