काठमाडौं, १५ फागुन ।
संगीतज्ञ अम्बर गुरुङको ८४ औँ जन्म जयन्तीको अवसरमा गुरुङद्वारा रचित, संगीतबद्ध एवं स्वरबद्ध दशभन्दा बढी गीतहरूको बृन्दवादन (भायलन)का माध्यमबाट प्रस्तुति गरिएको छ ।
अन्नपूर्ण च्यामबर अर्केष्ट्रा नेपालले तलेजु धनकुमारी कोषको आयोजनामा ललितपुरको लामाटार मार्ग स्थित युनाइटेट एकेडेमीमा शनिवार आयोजित कार्यक्रममा करिब डेढ दर्जन बृन्दवादनको माध्यमबाट प्रस्तुति गरिएको थियो ।
अन्नपूर्ण च्यामबर अर्केष्ट्रा नेपालका अध्यक्ष राजकुमार श्रेष्ठको प्रमुख निर्देशनमा गरिएको कार्यक्रममा राष्ट्रिय गानका अलावा अम्बर गुरुङको रचना र गायन रहेको गीत नौ लाख तारा उदाए, तिम्रो पहाड गाउँ, म अम्बर हुँ तिमी धर्ती, तिमी झुमा पर्यौ, किरण खरेलको रचना र प्रेमध्वज प्रधानको गायन रहेको हाँस्ने रहरहरूमा प्रस्तुति दिइएको थियो ।
त्यसैगरी इन्द्र थपलियाको रचना र अम्बर गुरुङको गायन रहेको डाँडा पारी हिउँ परेछ, वैरागी काइँलाको रचना र अम्बर गुरुङको गायन रहेको आए सबै याद आए र गोपालप्रसाद रिमालको रचना र अम्बर गुरुङ र फत्तेमानको गायन रहेको रातो र चन्द्र सूर्य लगायतका गीतहरूको प्रस्तुति दिइएको थियो ।