दमक, २४ फागुन ।

आज ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । विश्वभर तथा नेपालका पनि विभिन्न स्थानहरुमा विविध कार्यक्रम गरी मनाइँदैछ ।
नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।
महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई लिने गरिन्छ ।
सन् २०२२ को लागि अन्तर्राष्ट्रिय नारा ‘दिगो भविष्यका लागि लैंगिक समानता’ तय भएको छ भने यस वर्ष नेपाल सरकारले नारी दिवसको नारा ‘सामाजिक न्याय र लैंगिक समानता ः दिगो विकासको सुनिश्चितता’ तय गरेको छ ।
आज देशका विभिन्न स्थानहरुमा नारी दिवसका अवसरमा सभा, गोष्ठी, खेलकुद कार्यक्रम आयोजना गरिएका छन् ।
झापाको विर्तामोडस्थित डोमालाल रंगशालामा आयोजना भइरहेको ५औं संस्करणको झापा गोल्ड कपका आयोजकले आज संकटा क्लब र थ्री स्टर क्लबबीच हुने खेलमा महिला दर्शकहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरेको छ ।
त्यस्तै आजै नारी दिवसको अवसर पारेर दमक नगरपालिका खेलकुद समितिले आयोजना गरेको प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनल खेल सम्पन्न हुँदैछ । फाइनलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र न्यू डायमण्ड क्लब काठमाडौंले प्रतिस्पर्धा गर्नेछन् ।
नारी दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना सन्देश जारी गरेका छन् ।

