
त्रिभुवन आर्मी र झापा ११ का कोच र क्याप्टेन
बिर्तामोड २९ फागुन । भोलि हुने नेपाल आइस झापा गोल्डकप अन्तरगत पाँचौं संस्करणको फाइनल प्रवेश गरेका दुवै टिमले उपाधी उचाल्ने दावी गरेका छन् ।
विभागीय टिम त्रिभुवन आर्मीसंग चौथो पटकको प्रतिष्पर्धामा घरेलु टिम झापा–११ ले यो पटक उपाधी उचाल्ने दावी गरेको छ ।
त्यसै त्रिभूवन आर्मीका तर्फबाट टिम कोच नविन न्यौपानेले डोमालाल रंगशाला आफूहरुलाई पनि घरेलु मैदान जस्तै लागेको बताउँदै यो पटक पनि उपाधी आर्मीले नै हात पार्ने बताएका छन् ।
गोल्डकप आयोजक समितिद्वारा विर्तामोडमा आयोजित प्रि म्याच प्रेस कन्फ्रेन्समा बोल्दै दुवै टिमका कोच तथा टिम क्याप्टेनले उपाधी उचाल्ने दावी गरेका हुन् ।
यसअघिका खेलमा झापा ११ ले सिक्किमको रेडपाण्डा फुटबल क्लबलाई क्वाटर फाइनल र सेमिफाइनलमा संकटा क्लब जावलाखेललाई पछि पार्दै फाइनल प्रवेश गरेको हो भने त्रिभूवन आर्मी क्लब क्वार्टर फाइनलमा दार्जिलिङको एमएफसी क्लब र सेमिफाइनलमा सातदोबाटो क्लबलाई पाखा लगाउँदै फाइनलमा पुगेको हो ।
दुवै टिमका कोच र टिम क्याप्टेनले उपाधीका लागि निकै कडा मेहनत गर्नुपर्ने स्वीकार गरेका छन् । झापा–११ का टिम क्याप्टेन सन्तोष गुरुङले पाँचौं पटकको प्रतिष्पर्धासम्म आइपुग्दा फाइनलमा आर्मी क्लवसंगै प्रतिष्पर्धा गर्नु परेको इतिहासलाई यो पटक उपाधी हात पारेर इतिहास बनाउने बताए ।
त्यस्तै टिम क्याप्टेन विशाल राईले यो पटक नेपालका उत्कृष्ट खेलाडीहरुको टिम लिएर झापा ११ मैदानमा आएको बताए । उत्कृष्ट खेलाडीको टिम रहेपनि झापा ११ का खेलाडीले प्रतिष्पर्धामा सहभागी हुनुअघि एकै ठाउँमा अभ्यास गर्ने समयको अभावमा पाँचौं संस्करणका क्वाटर फाइनल र सेमिफाइनलमा केही कमजोरी भएको स्विकार गर्दै फाइनलमा पूर्ण सुधार गरेर सबै खेलाडीको प्रयासमा उपाधी जित्ने दावी गरे ।
उपाधी नजिक पुग्दा घरेलु दर्शकको अपार समर्थन पाएको झापा ११ ले उपाधी जितेर दर्शकलाई खुशी दिन भने सकेको छैन ।सो अवसरमा आयोजक झापा गोल्डकप समितिका अध्यक्ष विनोद बस्नेतले फुटबल खेलाडी विशाल राईलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने घोषणा गरे ।
प्रि म्याच प्रेस कन्फ्रेन्सको सहजीकरण पाँचौं संस्करणका म्याच कमिसनर केशव दाहालले सहजीकरण गर्नुभएको थियो । प्रतियोगिताका विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछ । सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछ । उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डफेन्डरले नगद २१ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

