adv

झापा सुपर लिग क्रिकेट प्रतियोगिता बैशाख १ देखी

मेचीनगर,०१,चैत । कोरोना महामारीका कारण लामो समयदेखि थला परेको नेपाली क्रिकेटलाई पुरानै लयमा फर्काउने उद्देश्यका साथ झापामा पहिलोपटक झापा सुपर लिग जेएसएल क्रिकेट प्रतियोगिता हुने भएको छ । आगामी बैशाख १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको आयोजना लर्डबुद्व क्रिकेट एकेडेमी मेचीनगरले गर्ने भएको हो ।

प्रतियोगिता सञ्चालनको तयारीमा जुटेको आयोजकले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी गराएको हो ।

प्रतियोगिता सम्पन्न गर्न करिब १२ लाख खर्च अनुमान गरेको जनाउदै, व्यवसायिक संस्था र निजी क्षेत्रहरूबाट पनि प्रायोजनको आश्वासन पाएको र छिट्टै मुख्य प्रायोजक र अन्य सहप्रायोजकको टुंगो लाग्ने आयोजकले जनाएको छ ।

मेचीनगर (६ स्थित काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगितामा खेलाडी छनोट अक्सन मार्फत हुने र अक्सनको अनलाइन फारम आज बेलुका ५ बजेपछि खुल्ने आयोजकले जानकारी दिएको छ।

यो खालको प्रतियोगिता झापामा पहिलोपटक हुन लागेकाले केही कठिनाइ र चुनौतीहरू रहेको उल्लेख गर्दै सबै खेलप्रेमीहरूको साथ र सहयोगमा प्रतियोगिता सफल हुने लर्ड बुद्ध क्रिकेट एकेडेमीका अध्यक्ष हिमाल विकेले जानकारी दिए।

उक्त प्रतियोगितामा पाँच टिम सहभागी हुनेछन्, भने सहभागी ४ टिमको टुंगो लागिसकेको छ । प्रतियोगितामा प्रविण अग्रवाल मालिक रहेको धुलाबारी टाइगर्स, अर्पण राई मालिक रहेको भद्रपुर राइजिङ किङ्स, सुमन प्रसाईं मालिक रहेको विराट वारियर्स र सोभित बास्तोला मालिक रहेको बोस्टन इगल्सको टुंगो लागिसकेको छ।

प्रतियोगितामा प्रत्येक टिमले प्रदेश स्तरका २ र राष्ट्रिय खेलाडी एकजना गरि ३ जना खेलाडी जिल्ला बाहिरको टिममा समावेश गर्न पाउनेछन् भने खेलाडी छनोटमा एउटा टिमले बढिमा ६० हजार रुपैयाँ सम्म खर्च गर्न पाउनेछन् ।

प्रतियोगिताका मार्कि प्लेयरलाई ५ देखि ८ हजार सम्मको बोली लगाउन पाइनेछ भने “ए” लेबलको खेलाडीलाई ४ देखि ५ हजारसम्म , “बी” लेबललाई ३ हजारदेखि ४ हजार ५ सय सम्म र “सी” लेबललाई २ हजारदेखि ३ हजार ५ सय सम्म बोली लगाउन पाइनेछ । त्यस्तै प्रतियोगितामा इमेर्जिङ प्लेयरलाई १ हजार ५ सय देखि २ हजार ५ सयसम्मको बोली लगाउन पाउने आयोजकले जानकारी दिएको छ।

प्रतियोगिताको विजेता टोलीले नगद रु २ लाख ११ हजारसहित ट्रफी पाउने छ भने उपविजेता टोलीले नगद रु। १ लाख ११ हजार सहित ट्रफी पाउने छ ।

प्रतियोगिताको बेस्ट बलरले १० हजार, बेस्ट, प्लेयरले १५ हजार, बेस्ट फिल्डरले ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले नगद रु। २ हजार ५ सय प्राप्त गर्नेछन् ।

पत्रकार सम्मेलनमा प्रमुख अतिथिका रूपमा राष्ट्रिय क्रिकेट टोलीका पुर्व खेलाडी तथा हालका सहायक प्रशिक्षक मनोज कटुवाल , जिल्ला क्रिकेट संघ झापाका अध्यक्ष प्रविण थापा , आयोजक लर्ड बुद्ध क्रिकेट एकेडेमीका अध्यक्ष हिमाल विके , सहभागी टिमका मालिक लगायतको उपस्थिति रहेको थियोे ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु