आरती राई
माङसेबुङ, १७ चैत्र ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत इलामको माडसेबुङ ६ का ३० जना युवा लाभान्वित भएका छन् ।
वडाका दुई सय १० जनाले निवेदन दिएकामा ३० जनालाई छनौट गरी प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत रोजगार उपलब्ध गराइएको हो ।
माङसेबुङ वडा नम्बर ६ का वडा अध्यक्ष प्रदिप साम्पाङ राईका अनुसार आर्थिक स्थिति कमजोर रहेका तथा वेरोजगार युवाहरूलाई लक्षित गरी संचालनमा आएको यस कार्यक्रम अन्तर्गत एक सय दिन रोजगार उपलब्ध हुन्छ ।
कार्यक्रमका निम्ति कामका लागि पारिश्रमिक आयोजना र युवा रोजगारीका लागि रूपान्तरण पहल आयोजनाबाट वजेट उपलब्ध भएको वडा अध्यक्ष राइले बताए ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत माङसेबुङ ६ मा झेपाले पर्यटन पदमार्ग निर्माण, सिंगेश्वरी खर्वनी माल्टेनी गा. पा. सडक स्तरोन्नति, वाहिला मालबाँसे कृषि सडक मर्मत, स्वास्थ्य चौकी सडक मर्मत, मलिबाँसे माल्टेनी कृषि सडक मर्मत, मलिबाँसे लक्ष्मी गा. पा. सडक मर्मत योजना समावेश छन् ।
झेपाले पर्यटन पदमार्ग निर्माणको काम ८० प्रतिशत सम्पन्न भइसकेको सो योजना समितिका अध्यक्ष ध्रुव राईले बताए ।
कार्यक्रम मार्फत रोजगारी पाएपछि आर्थिकस्तरमा सुधार आएको कुरा सहभागी नवीनकुमारी राईले बताइन् ।
माङसेबुङ ६ वडा कर्यालयले दिएको जानकारी अनुसार प्रधानमन्त्री स्वारोजगार कार्यक्रममा समेटिएका छ वटा योजनाका लागि ११ लाख ९८ हजार बजेट बिनियोजन भएको छ ।
(आरती राई माङसेबुङ ६ मा जारी खोजमूलक पत्रकारिता तालिमकी प्रशिक्षार्थी हुन् ।)

