adv

ओलीको गृहनगरमै उम्मेद्वार छान्न एमालेलाई सकस !

दमक, २६ चैत्र ।

दमक नगरपालिकाको प्रशासनिक भवन ।

नेकपा एमालेलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामै मेयरको उम्मेद्वार तय गर्न सकस परेको छ ।

एमालेभित्र मेयर पदका लागि ३ र उपमेयर पदका लागि ४ जनाले दावी पेश गरेपछि उम्मेद्वारको तय हुन नसकेको हो ।

एमाले दमक नगर समितिको शुक्रबार आयोजित नगर भेलाले उम्मेद्वारको नाम टुङ्गो लगाएर माथिलो पार्टी कमिटीलाई सिफारिस गर्ने भनिएकोमा त्यसो हुन सकेन ।

एमालेबाट मेयरको आकांक्षीका रूपमा दमककी उपमेयर गीता अधिकारी, नगरस्तरीय भूमि व्यवस्थापन समितिको संयोजक बनिसकेका अम्बिका खनाल र ओली प्रधानमन्त्री रहँदा उनको सचिवालयमा काम गरिसकेका होमबहादुर थापा गरी तीन जना छन् ।

‘उहाँहरु तीनै जनाले आ–आफ्नो दावी छोड्नु भएको छैन । त्यसैले उम्मेद्वार बारे निर्णय भैसकेको छैन’, स्रोत भन्छ ।

मेयर पदका लागि मात्रै होइन, उप मेयर पदको लागि पनि एमालेका ४ जना आकांक्षी छन् । जसमा लोकबहादुर धिमाल, इन्द्र भण्डारी, लीला ढुंगेल दाहाल र नर्वदा सिवाकोटी पाठकको नाम चर्चामा छ ।

धिमाल यसअघि दमकको उपमेयर भैसकेका व्यक्ति हुन् भने भण्डारी एमाले अध्यक्ष ओलीका स्वकीय सचिवका रूपमा लामो समयदेखि काम गर्दै आएका सहयोगी हुन् । ढुंगेल र पाठक एमाले दमकका परिचित महिला नेतृहरु हुन् ।

एमाले दमक नगरले अध्यक्ष गेहनाथ पोख्रेलको संयोजकत्वमा उम्मेद्वार सिफारिसका लागि ७ सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा नगर समितिका उपाध्यक्ष दिपेश दाहाल, सचिव इन्द्र गुरुङ, उपसचिवहरु सन्तोष दुलाल र उर्मिला ओली सदस्य छन् । त्यस्तै नगर इन्चार्ज बोधप्रसाद घिमिरे र सह–इन्चार्ज मेदनीप्रसाद खरेल कार्यदलका सदस्य छन् ।

स्रोतका अनुसार मेयर र उपमेयर पदका आकांक्षीहरु आफ्नो दावीबाट पछि हट्ने मनसायमा छैनन् । यस्तो अवस्थामा सबैको नाम माथिल्लो कमिटीमा लेखी पठाउने तयारीमा कार्यदल पुगेको छ ।

‘कोही पनि पछि हट्ने स्थिति देखिँदैन । त्यसैले हामी सातै जनाको नाम आवश्यकताका आधारमा माथिल्लो समितिले निर्णय गर्नेगरी सिफारिस गरी पठाउने तयारीमा छौं’, स्रोतको भनाइ छ ।

एमालेले पालिकास्तरबाट उम्मेद्वार टुङ्गो लगाई सम्बन्धित जिल्ला कमिटीमा सिफारिस पठाउने र जिल्लाले प्रदेश कमिटीमा पठाइसकेपछि सम्बन्धित प्रदेश कमिटीले टिकट दिने प्रावधान राखेको छ ।

यसअघि दमक वडा नम्बर ५ र ६ का लागि क्रमशः इन्द्र गुरुङ र टेकबहादुर थापाको नाम भने सर्वसम्मत वडा अध्यक्षको उम्मेद्वारका रूपमा टुङ्गो लागिसकेको छ । उनीहरु दुवै जना तत् तत् वडाका वडाध्यक्षका रूपमा कार्यरत छन् ।

त्यस्तै वडा नम्बर ८ मा नगर उपाध्यक्ष दिपेश दाहालको नाम प्रस्तावका रूपमा आएको स्रोतको भनाइ छ । अन्य आकांक्षी नदेखिएकाले उनले टिकट पाउने लग्भग पक्का छ ।

दमक ओलीको गृहनगर भएकाले यो स्थानीय तहलाई सर्वाधिक चासोका रूपमा हेरिएको छ ।

१० वटा वडा रहेको दमक नगरपालिकामा ७४ सालको निर्वाचनमा मेयर र उपमेयर दुवै एमालेले जितेको थियो ।

८ वटा वडामा क्लिन स्वीप गरेको एमालेले दमकको १ र ७ नम्बर वडा भने गुमाएको थियो । ती वडामा राप्रपाले बाजी मारेको थियो ।

७४ सालको चुनावमा मेयरका प्रतिस्पर्धी राप्रपाका राम थापा दोस्रो भएका थिए भने माओवादीका गगन पुरी तेस्रो र काँग्रेसका ढुण्डीराज भण्डारी चौंथो बनेका थिए ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित शीर्षकहरु