२९ भदौ, कमल ।

लायन्स क्लव अफ झापा दमकले मंगलबार झापाको कमल ६ का अति विपन्न १० घर परिवारलाई दशैं कार्यक्रम अन्र्तगत खाद्यान्न सहयोग गरेको छ ।
क्लव कोषाध्यक्ष एवम् दमकका युवा व्यवसायी सन्दिप साहेवालाको जन्मदिनको अवसर पारेर उनको सहयोगमा १० घर परिवारलाई खाद्यन्न उपलब्ध गराइको हो ।
क्लवका तर्फबाट २५ केजी चामल, चिउरा, भुजा, दाल, नून, खानेतेल, चिनी लगायतका दैनिक अत्यावश्यकीय खाद्यान्न सामाग्री उपलब्ध गराइएको क्लवका अध्यक्ष अशोककुमार अग्रवालले बताए । उपलब्ध गाराइएको खाद्यान्नले प्रतिपरिवार कम्तिमा १ महिना पुग्ने बताइएको छ ।
खाद्यान्न उपलब्ध गराइएका अति विपन्न परिवारमा चिजा दर्जी, नैनकला परियार, दिलबहादुर भूजेल, साइँली सतार, कल्पना ग्वाल, कमला तिम्सिना, भोजकुमार तिम्सिना, मनललाल ढुङ्गाना, शिव ढकाल र भीममाया ताजपुरिया रहेका छन् ।
तडकभडक गरेर होटलहरुमा जन्मदिन मनाउने भन्दा अति विपन्न परिवारलाई सानो सहयोग गरेर भए पनि जन्मदिन मनाउने सोच अनुसार लायन्स क्लव अफ झापा मार्फत आफूले खाद्यान्न उपलब्ध गराएको साहेवालाको भनाइ छ ।
सो कार्यक्रममा कमल वडा नम्बर ६ का वडाध्यक्ष नरेन्द्र भट्टराईले दीर्घ रोगी, अशक्त, अपाङ्ता भएका र अति विपन्न परिवार छनौट गरी लायन्स क्लव मार्फत खाद्यान्न वितरण अभियान बिगतदेखि नै जारी रहेको भन्दै सो कार्यको प्रशंसा गरे ।
कार्यक्रममा लायन्स लिडरहरु अजयकुमार अग्रवाल, दिवस राई, कमल उदास लगायतले जन्मदिनको अवसरमा शुभकामना दिँदै थप सामाजिक र मानवीय सेवामा लाइन्सकर्मीहरुले आफूलाई समर्पित गर्नुपर्ने धारणा राखे ।
कमल ६ स्थित वडा कार्यालयको सभाहलमा सम्पन्न सो कार्यक्रमको सहजीकरण स्थानीय सामाजिक अगुवा युवा दिपक खड्काले गरेका थिए भने क्लवका सचिव विष्णु पोखरेलले सञ्चालन गरेका थिए ।