बिर्तामोड,२ असोज । महिला मुक्ति अभियान झापाले चार जना महिलालाई सिलाई गर्ने मेसिन प्रदान गरेको छ ।
आईतबार बिर्तामोड स्थित एक कार्यक्रमका बिच उक्त संस्थाबाट सिपमुलक तालिम लिएर व्यवसाय सञ्चालन गर्दै आइरहेका बिर्तामोड –१ की निरु शिवा, कल्पना दनुवार, बिर्तामोड –४ की राधिका तुम्रोक र बिर्तामोड –५ की अनिता राईलाई सिलाई तथा एम्ब्रोडरी मेसिन प्रदान गरिएको हो ।
२०५९ सालमा स्थापना भएको महिला मुक्ति अभियानले महिला हिंसा पीडितलाई शिलाई कटाई, ब्युटी पार्लर, उद्घोषण, नेतृत्व व्यक्तित्व विकास, बुटिक, अगरबत्ती, मैनबत्ती, तान कपडा बुन्ने, भुजिया, चटपटे लगायतका स्वरोजगार मूलक तालिम दिदै आएको र हाल सम्ममा महिला मुक्ति अभियानले १ हजार भन्दा धेरै महिलाहरूलाई विभिन्न लघुउद्यम शिल तालिम लिएका मध्येबाट करिव १ सय ५० को हाराहारीमा महिलाहरू स्वरोजगार संस्थाकी अध्यक्ष राधा सुब्बाले जानकारी दिइन् ।
महिला मुक्ति अभियान झापाकी अध्यक्ष राधा सुव्वाको अध्यक्षता तथा बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मोहन ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी सचिव पूर्णवति लिम्वूले स्वागत गरेकी थिइन् ।
संस्थाकी उपाध्यक्ष तीलरुपा श्रेष्ठले औचित्यमाथी प्रकाश पारेको कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी , राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी केन्द्रीय कमिटी सचिव धनु इङनाम लिम्वू, नेपाल आदीवासी जनजाती पत्रकार महासंघ झापाकी अध्यक्ष भूमिका लिम्वू फियाक, वीरता लेडी जेसीजकी निवर्तमान अध्यक्ष स्वस्तिका आचार्य सिटौला, बिर्तामोड –४ की कार्यपालिका सदस्य निर्मला गजमेर , चर्तुभूज काफ्लेलगायतले सिपलाई ब्यवसायीकरण गरेर आत्मनिर्भर बन्न महिलालाई शुभकामना दिए ।
कार्यक्रमको सञ्चालन संस्थाकी निवर्तमान सह-सचिव विनिता तामाङले गरेकी थिइन् ।

