३० असोज, दमक ।
१०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएका वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको अन्त्येष्टि उनको चिना (जन्मकुण्डली) जलाएर गरिएको छ ।
जोशीले आफ्नो शव अध्ययनका निम्ति किष्ट अस्पताललाई बुझाउने अन्तिम इच्छा व्यक्त गरेका थिए ।
त्यसैअनुसार उनको पार्थिव शरीर अस्पताललाई दान गरेपछि जोशीका दुई छोरा अनुराज र कान्छा छोरा डा. पूर्णराजले आइतबार साँझ ६ बजेर १४ मिनेटमा शंखमूलस्थित बागमती घाटमा जन्मकुण्डली जलाएर आफ्ना बुबाको अन्त्येष्टि गरेका हुन् ।
जोशीका आत्मकथा लेखक गिरीश गिरीका अनुसार जन्मकुण्डली जलाएपछि कागजको खरानी र जोशीका लुगाफाटा बागमती नदीमा सेलाइएको थियो ।
अन्त्येष्टि निम्ति जन्मकुण्डली जलाउनुअघि त्यसका प्रतिरूप निकालेर सुरक्षित राखिएको उनले लेखेका छन् ।
गिरीले आफ्नो ट्विटरमार्फत् अन्त्येष्टिको तस्बिर सार्वजनिक गरेका छन् ।