४ पुष, दमक ।
झापाको दमक ३ स्थित बेलडाँगीमा अन्तरराष्ट्रिय आमन्तृत प्रथम जय हुँमागाई स्मृति गोल्ड कप प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिता बारे सोमबार पत्रकार मञ्च दमकमा पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएको हो ।
पुष ६ गतेबाट सुरु हुने प्रतियोगितामा अमेरिकाको बिवाई फुटबल क्लब मिन्नेसोटा, क्यामरुनको एभनिर फुटबल क्लब, भारतदार्जिलिङको युके फुटबल क्लबलगायत अन्य झापा, मोरङ, सुनसरी, सिरहा जिल्लाका ५ टीम गरि कुल ८ वटा टिम सहभागी हुनेछन्।
उद्घाटन खेल सह्लेश युवा क्लब सिरहा र बिर्तामोड युनाइटेड फुटबल क्लब झापाबीच हुने आयोजकले जनाएको छ ।
त्यस्तै पुष ७ गते पथरी सनिश्चरे १० (पुनर्वास) मोरङ र शान्तिनगर फुटबल क्लब सुनसरीबीच प्रतिस्पर्धा हुने पक्का भएको हो ।
प्रतियोगिताअन्तर्गत ८ गते बि वाई सी बेलडाँगी झापा र क्यामरुनको एभनिर फुटबल क्लब भिड्ने छन् भने ९ गते पहिलो चरणकोअन्तिम खेल भारत दार्जिलिङको युके फुटबल क्लब र अमेरिकाको बिवाई फुटबल क्लब मिन्नेसोटाबीच हुने छ ।
१० र ११ गते सेमीफाइनल खेल हुने छन् भने १३ गते उपाधिका लागि अन्तिम स्पर्धा हुने छ ।
प्रतियोगिताको लागि ३४ लाख बढी खर्च हुने आयोजक जय हुँमागाई फाउण्डेसनका अध्यक्ष शिव हुँमागाईले पत्रकार सम्मेलनमाजानकारी दिएका छन् ।
स्वर्गीय जय हुँमागाई भुटनमै हुँदा जिल्लास्तरीय फुटबल खेल्ने र उनी भुटानबाट लखेटिएर नेपाल आएपछि पनि निरन्तर शर्णार्थीयुवालाई फुटबल खेलमा लाग्न प्रेरित गरिरहने व्यक्ति थिए ।
उनैको स्मृतिमा फाउण्डेसन ले प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष शिव हुँमागाईको भनाइ छ । उनले भने -‘बुवाकोफुटबलप्रतिको प्रेम र समर्पणलाई सम्मान गर्दै आउँदो पुस्तालाई खेलकुदको विकासमा लाग्न प्रेरित गर्ने हिसाबले प्रतियोगिता गर्दैछौं।‘
प्रतियोगिताको लागि एन्फासँगसमेत आवश्यक समन्वय गरिएको हुँमागाई बताउँछन् ।
प्रतियोगिताका विजेताले नगद ५ लाख र उपविजेतले नगद ३ लाख सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् भने उत्कृष्टखेलाडी, हाई स्कोरर, गोल किपरले नगद २५ हजार पुरस्कार प्राप्त गर्ने छन् ।
प्रत्येक खेलका मेन अफ दी म्याचले नगद ५ हजार प्राप्त गर्ने छन् ।
प्रतियोगितामा नेपालका ए डिभिजन क्लबका खेलाडीहरुले विभिन्न टीमबाट खेल्ने बताइएको छ ।
प्रतियोगिताकै लागि बेलडाँगीमा २५ लाख खर्च गरेर खेल मैदानसमेत तयार गरिएको फाउण्डेसनले जनाएको छ ।


