
२३ माघ,काठमाडौं। एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७८ अन्तर्गतको पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भएको छ ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै पिपल्स च्वाइसको लागि ५ खेलाडीको मनोनयन सार्वजनिक गरिएको हो ।
यसपटक मनोनयनमा क्रिकेटका आसिफ शेख, लन टेनिसकी अभिलाषा विष्ट, फुटबलका अन्जन विष्ट, पौडीका डुवाना लामा र भलिबलकी उषा भण्डारी पर्न सफल भएका छन् । खेलाडी छनोट समितिका संयोजक अन्जन खड्काले वर्ष गत वर्षभरि खेलाडीले गरेको प्रदर्शनको आधारमा खेलाडी छनोट गरिएको बताए ।
१९औं संस्करणको एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड यही २०७९ साल फागुन २३ गते हुँदैछ। पिपल्स च्वाइस विधाका विजेता खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक र समर्थकको भोटिङबाट चुनिने छ ।
ई–सेवाको मतभार– ५० प्रतिशत, सामाजिक सञ्जाल फेसबुकको मतभार– २५ प्रतिशत (एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेजबाट गर्नुपर्ने), राष्ट्रिय प्रशिक्षकको मतभार– १२ दशमलब ५ प्रतिशत र खेलपत्रकारको मतभार– १२ दशमलब ५ प्रतिशत रहनेछ । भोटिङका लागि विद्युतीय भुक्तानीका लागि ई–सेवासँग प्रायोजन सम्झौता भइसकेको छ । ई–सेवासँग लगातार तेस्रो वर्ष सहकार्य हो ।
यसपालि पल्सर स्पोर्ट्स अवार्ड २०७८ मा उत्कृष्ट वर्ष पुरुष खेलाडी, उत्कृष्ट वर्ष महिला खेलाडी, उत्कृष्ट वर्ष प्रशिक्षक, उत्कृष्ट वर्ष युवा खेलाडी, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड हुनेछ ।
पुरुष, महिला, प्रशिक्षक, युवा र पिपल्स च्वाइस गरी ५ विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ । विगतमा चार पल्सर मोटरसाइकल प्रदान गरिएकोमा यस वर्ष युवा विधाका विजेतालाई पनि मोटरसाइकल प्रदान गर्ने मञ्चले जनाएको छ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

