
२९ माघ ,माङ्सेबुङ । इलामको माङसेबुङमा जारि पवित्रहाङमा कप फुटबल प्रतियोगितामा नवदीप युवा क्लब मिक्लाजुङ मोरङ फाइनलमा प्रवेश गरेको छ ।
आज भएको खेलमा ताप्लेजुङ जिल्ला फुटबल संघ, ताप्लेजुङलाई २–१ गोल अन्तरले पराजित गर्दै मोरङले फाइनलमा प्रवेश गरेको हो ।
मिक्लाजुङ मोरङको जितमा अबिना राई र पुर्णिमा राईले एक एक गोल गरिन् । यता ताप्लेजुङका मिना लिम्बूले एकमात्र गोल फर्काइन ।
पहिलो हाफ बराबरीमा रोकिएको खेलको दोस्रोहाफमा भने मोरङ थप आक्रमक भएर उत्रियो । दोस्रो हाफको छैटौं मिनेटमानै पुर्णिमा राईको गोलमा मोरङले अग्रता लियो ।
त्यसपछि दूई मिनेट नबित्दै मोरङका लागि अबिना राईले गोल गर्दै अग्रता दोब्बर बनाईन । खेलको दोस्रो हाफको २७औं मिनेटमा ताप्लेजुङका मिना लिम्बुले गोल गर्दै खेल २–१ मा फर्काएपनि हार भने टार्न सकेन ।

खेलको वुमन अफ दि म्याच मोरङकि पुर्णिमा राई घोषित भईन् ।
किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६७औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित पवित्रहाङमा कप २०७९ अन्तरगत भोलि सोमबार हुने दोस्रो सेमिफाइनल खेल सोमबार दोस्रो सेमिफाइनल एम एफ सि दार्जिलिङ भारत र धनकुटा जिल्ला खेलकुद संघ धनकुटाबिच खेल हुनेछ ।
प्रतियोगिताको विजेताले नगद दुई लाख एक सय सर्सठी र उपविजेताले एक लाख एक सय सर्सठी प्राप्त गर्नेछन् । प्रतियोगिताको फाईनल खेल फागुन ३ गते हुनेछ ।

