१२ फागुन, काठमाडौं ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके शाखाले स्थापना गरेको सन् २०२२ को ‘फोनिज युके पत्रकारिता सम्मान र पुरस्कार’ पत्रकार रमिता लामा र नृपेन्द्रलाल श्रेष्ठलाई प्रदान गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले शुक्रबार लामा र श्रेष्ठलाई फोनिज युके सम्मान र फोनिज युके पुरस्कार प्रदान गरेका हुन् ।
फोनिज संघीय कार्यालयमा आयोजित एक कार्यक्रममा उनीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । लामा र श्रेष्ठ दुबै जना २०४९ सालदेखि निरन्तर पत्रकारितामा क्रियाशील छन् ।
फोनिज युकेले सञ्चारक्षेत्रबाट आदिवासी जनजाति समुदायको विकासका लागि कलम चलाउँदै आएका दुई जना पत्रकारलाई हरेक वर्ष सम्मान र पुरस्कार प्रदान गर्दै आएको छ ।
कार्यक्रममा फोजिन संघीय समिति अध्यक्ष गजुरधन राईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा फोनिज वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, उपाध्यक्षहरु अमरध्वज लामा र जगत दोङ, फोनिज युकेका अध्यक्ष गोमा राना, फोनिज पूर्व महासचिव मनोज घर्तीमगरलगायत फोनिजकर्मीहरु सहभागी थिए ।
सम्मान तथा पुरस्कारको राशी जनही २५ हजार र सम्मानपत्र रहेको फोनिज महासचिव मिलन लिम्बूले जानकारी दिएका छन् ।

