
२८ साउन,मोरड्ं । पहिचानपक्षधरहरुले विकल्पमा पहिचानलाई आत्मसाथ गर्ने क्षेत्रीय पार्टी निर्माण गर्नुपर्ने बुद्धिजिविहरुको भनाई छ ।
पछिल्लो समय फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै यतिबेला पहिचानपक्षधर सडक आन्दोलनमा छन् । त्यसै सन्भदर्भमा पहिचान पक्षधरहरुले क्षेत्रीय पार्टी निर्माण गर्नुपर्ने उनीहरुको जोड दिएका हुन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिले आइतबार विराटनगरमा पहिचान आन्दोलनः अबको बाटो संवाद कार्यक्रममा आफ्नो भनाई राख्दै उनीहरुले यस्तो बताएका हुन् ।
सम्वाद कार्यक्रममा पहिचानपक्षधर बुद्धिजीविहरु प्राध्यापक डाक्टर महेन्द्र लावती, लेखक तथा विश्लेषकहरु खगेन्द्र संग्रौला, भवानी बराल र डम्बर खतिवडाले आ–आफ्नो धारणा राखेका थिए ।
पहिचानको आन्दोलनका माग र मुद्दालाई सम्बोधन नगरी राष्ट्रिय पार्टीहरुले खोलानाला र नदीको नाममा प्रदेशको नामकरण भएको भन्दै उनीहरुले आगामी दिनमा क्षेत्रीय पार्टीहरुको निर्माण आवश्यक रहेको उनीहरुको निष्कर्ष रहेको थियो ।
कोशी प्रदेशसभामा आदिवासी जनजातिहरु (विशेष गरी राई, लिम्बू)को उपस्थिति भएपनि राष्ट्रिय पार्टीका शीर्ष नेताहरुकै कारण उनीहरुले पहिचानको विरुद्धमा मतदान गरेको उनीहरुको दाबी गर्दैउनीहरुले भने,’त्यही कारण क्षेत्रीय पार्टीको आवश्यकता भएको हो ।’
प्राध्यापक डाक्टर महेन्द्र लावतीले मधेशी आन्दोलन र थारुहटको सफलतालाई हेरेर मोर्चा बनाएर, गठबन्धन बनाएर, पहिचानवादी पार्टीमा समाहित बनेर वा पहिचानवादी राजनीतिक शक्ति निर्माण गरेको खण्डमा मात्रै पहिचानको आन्दोलनले ल्याएको अधिकारलाई स्थापित गर्न सकिने बताए ।
‘मेरो विचारमा यदि १ नम्बर क्षेत्रमा क्षेत्रीय राजनीतिक शक्ति उदायो भने उसले यो पहिचानको विषय समेट्छ । उनले भने,‘किनभने राजनीतिक शक्तिको उद्देश्य नै बढी मत ल्याउने हो । त्यसले गर्दा राजनीतिक शक्ति निर्माण गर्दा यो पहिचानको समस्या कभरेज गर्छ जस्तो लाग्छ ।’लेखक तथा विश्लेषक डम्बर खतिवडाले पनि राजनीतिक पार्टीहरुले मात्रै पहिचानको माग र मुद्दालाई सम्बोधन गर्ने भएकोले त्यसतर्फ सोच्नुपर्नेमा उनले जोड दिए ।
पहिचानको आन्दोलनलाई गहिरो गरी आत्मसाथ गर्ने राजनीतिक शक्तिकेन्द्रको अभाव देखिएको बताउदै खतिवडाले राष्ट्रिय तहबाट पनि मुद्दालाई समेट्ने खालको राजनीतिक शक्ति निर्माणको पहल गर्ने र क्षेत्रीय शक्ति पनि बनाउने पहल भयो भने मात्रै पहिचानको मुद्दा सम्बोधन गर्न सकिने बताए । उनले एमाले अध्यक्ष ओलीको अज्ञानता र अहंकार, माओवादी अध्यक्ष प्रचण्डको अवसरवाद र काँग्रेस सभापति शेरबहादुर देउवाको बेवास्ता कै कारण पहिचानको माग र मुद्दा सम्बोधन नभइरहेको दाबी गरे ।
अर्का लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाले २ नम्बर प्रदेशमा क्षेत्रीय पार्टी र क्षेत्रीय भावना बलियो भएकै कारण पहिचानसहितको नाम मधेश राखिएको दाबी गरे । युवाहरुमा धैर्यको बाँध टुट्न लागेको आफूले देखेको र लडाकु दस्ताहरु बनेको बताउँदै ती युवाहरुमा विश्वासघात भएको कारण हतियार उठाउने सम्मको भावना जागृत हुँदै गएको कारण परिणाम घातक हुनसक्ने संकेत गरे । उनले भने,’शासकहरुले यो परिस्थिति बुझेनन् भने परिणाम कति घातक हुन्छ त्यसको आँकलन शासकहरुले नै गर्नुपर्छ ।‘
पहिचानवादीहरुले कोशी नाम खारेजको मात्रै कुरा गरे लक्ष्य बिनाको लडाइ हुने भन्दै साझा सहमतिमा पुग्नुपर्नेमा जोड दिए ।
‘कोशी खारेज भएपछि रिक्त स्थानमा पहिचानवादीले राख्न चाहेको नाम के हो त्यस विषयमा छलफल सुरु गरौं । किरात पहिले कि लिम्बुवान भन्ने झगडा किन ? यसैकारण पनि पहिचानविरोधीलाई सजिलो भइरहेको छ,’ संग्रौलाले भने, ‘राईहरुले किराँत नाममा दाबी गरेका छन् । अर्को सबैभन्दा लामो संघर्षको पृष्ठभूमि भएको र योगदान गरेको समुदाय लिम्बूहरु हुन् । त्यसकारण मेरो प्रस्ताव किरात लिम्बुवान बनाउँ भन्ने रहेको छ ।’
अर्का विश्लेषक भवानी बरालले कोशी नाम खारेज नभए प्रदेशमा ‘कोशीमा आगो लाग्ने’ चेतावनी दिए । मुख्य राजनीतिक दलहरुले पूर्व मान्यताहरुलाई स्थापित गर्नका लागि कोशीमा आगो लाग्न दिनु नहुने उनको भनाई थियो । अबको बाटो भनेको कोशी खारेजी नै भएको उनको जोड थियो ।
उनले भने,‘अब २०८४ को चुनाव कुरेर हुनेवाला केही छैन । आन्दोलनकै मार्फतबाट, जनमत निर्माणकै मार्फतबाट पहिचानको आन्दोलनलाई अगाडि बढाउनु पर्छ । जनमत निर्माण गर्ने आधारहरु व्यापक भएको छ,’

