२५ भदौ,काठमाडौँ । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा नौ टिमले प्रतिस्पर्धा गर्नेछन् र आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले आइतबार खेल तालिका पनि जारी गरेको छ । त्यसअनुसार पहिलो खेल मंसिर ८ मा हुनेछ र त्यसमा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स र स्पोर्टिङ इलाम डे मेची भिड्नेछन् ।
प्रतियोगिता पुस २१ सम्म चल्नेछ । पहिलो संस्करणको प्रतियोगितामा सात टिमको सहभागिता रहेको थियो र यसपल्ट दुई टिम बढेका छन् । यसअघि दस टिमले खेल्न सक्ने बनाइए पनि विराटनगर एफसीले नखेल्ने भएको हो । यस्तोमा लिग चरणमा ३६ खेल हुनेछन् । त्यसपछि क्वालिफायर वान, इलिमिनेटर र क्वालिफायर टु हुनेछन् । सहभागी नौ टिममा काठमाडौं रेजर्स र इलाम डे मेचीसँगै उपविजेता धनगढी फुटबल क्लब, पोखरा थन्डर्स, बुटवल लुम्बिनी फुटबल क्लब, ललितपुर फुटबल क्लब, फुटबल क्लब चितवन, झापा एफसी र वीरगन्ज युनाइटेड रहेका छन् । यसमध्ये झापा, स्पोर्टिङ इलाम र मेची नयाँ टिम रहेका छन् । दुई वर्षअघि प्रतियोगिताको पहिलो संस्करणको फाइनलमा काठमाडौंले धनगढीलाई १–० ले पराजित गरेको थियो ।
सबै खेल भने काठमाडौंको दशरथ रंगशालामा हुनेछन् । पहिलो चरणका खेलमा बुटवलले ललितपुर, वीरगन्जले धनगढी र झापाले इलामको सामना गर्नेछन् । यस्तै चितवनको पहिलो प्रतिद्वन्द्वी काठमाडौं हुनेछ । लिग चरणका ३० खेल साँझ आयोजना हुनेछन् भने छ खेल दिउँसो हुने खेल तालिका बनाइएको छ ।


