सजन राई ।
९ चैत,माङसेबुङ । इलामको माङसेबुङमा टोल स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । माङसेबुङ ३ नम्बर वडा भित्रका १६ वटा टोल विकास संस्थाहरुबिच प्रतिस्पर्धा हुने भएको हो ।
चैत १६ र १७ गते दुई दिन हुने प्रतियोगिता माङसेबुङ ३ स्थित दुर्गा माध्यमिक विधालयको खेल मैदानमा सञ्चालन हुनेछ ।
आर्थिक वर्ष २०८०/८१ को वडा सिलिङको बजेटबाट खेलकुद विकास कार्यक्रम अन्तर्गत रहेको १ लाख रुपैयाँ बजेटबाट प्रतियोगिता सञ्चालन हुने माङसेबुङ ३ वडा अध्यक्ष लछुमन राई जनमले जानकारी दिए । उनका अनुसार विशेषत प्रतियोगिता स्थानीय खेलाडी उत्पादन नै रहे पनि स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद नै मुख्य उद्देश्य रहेको छ ।
माङसेबुङ खेलकुद समन्वय समितिका सदस्य प्रविण लिम्बूका अनुसार इन्ट्रि फी नलाग्ने यस प्रतियोगितामा सहभागी सबै टिमलाई सुविधाका लागि १५ सयका दरले प्रदान गरिने छ। प्रथम पुरस्कार नगद १६ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र रहेको छ भने दोस्रो पुरस्कार नगद १० हजार सहित ट्रफि,मेडल र प्रमाणपत्र रहेको छ ।
प्रतियोगिताका लागि उपाधि जित्ने गरी तयारी थालिएको सेवा सेवारो टोल विकास संस्थाका सिनियर खेलाडी तथा दुर्गा माविका शिक्षक सरतजङहाङ राईले बताए ।
हामीले अभ्यास गरिरहेका छौ,अझ पालिका भित्रका राम्रा साथै प्रदेश स्तरीय खेलाडीहरु समेत सेवा सेवारो टोलमा रहेकोले उपाधि जित्नै पर्ने दबाब रहेको छ ।