२१ चैत, माङसेबुङ ।
वैशाख १५ मा तोकिएको उपनिर्वाचन सम्पन्न गर्न इलाम क्षेत्र नम्बर २ मा मुख्य निर्वाचन अधिकृतका रूपमा जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई तोकिएको छ । निर्वाचन आयोगले न्यायाधीश घिमिरेलाई इलाम २ को लागि मुख्य निर्वाचन अधिकृत तोकेको हो ।
जिल्ला निर्वाचन कार्यालयले इलामले निर्वाचन प्रयोजनका लागि चैत २२ गते इलाम सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न लागेको जनाएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । कार्यतालिकाअनुसार चैत २४ गते उपनिर्वाचनमा उम्मेद्वारहरुले उम्मेदवारी मनोनयन हुनेछ ।
उपनिर्वाचन भाग लिन आयोगमा २० वटा दल दर्ता भएका छन् । निर्वाचनका लागि केन्द्रबाट आवश्यक सामग्री चैत २३ सम्ममा आइपुग्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
इलाम २ मा ७९ मतदानस्थल र १ सय ४९ मतदान केन्द्र रहनेछन् । यी केन्द्रमा ८ सय ९४ जना कर्मचारी परिचालन हुनेछन् ।