सजन राई ।
माङसेबुङ । इलामको माङसेबुङ-६ मा आयोजित टोल स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिताको विजेता डिफेन्डिङ च्याम्पियन बाँझो ३ बनेको छ । साबिक वडाहरुलाई मिलाएर बनाइएको टोल स्तरीय प्रतियोगिता माङसेबुङ ६ स्थित हस्टेमा रहेको पारुहाङ खेल मैदानमा सम्पन्न भएको हो ।
माङसेबुङ ६ को सहयोग तथा माङसेबुङ ६ टोल स्तरीय युवा तथा खेलकुद समितिको आयोजनामा जेठ ३ गते बाट सुरु भएको प्रतियोगिताको फाइनल खेल भने जेठ ९ गते बुधवार सम्पन्न भएको छ ।
फाइनल खेलमा पुरुष फुटबलको गत वर्षका विजेता बाझो ३ ले ३-२ गोल अन्तरले बाझो १ लाई पराजित गर्दै पुन: विजेता बनेको हो ।
खेलको दोस्रो मिनेटमै जेसिस राईको गोलबाट अग्रता लिएको बाझो १ ले ५औं मिनेटमा निर्मल राईको गोल सँगै अग्रता दोब्बर बनायो ।
तर उत्कृष्ट पुनरागमन गर्दै बाँझो ३ ले पहिलो हाफमै अग्रता बढायो । खेलको ११औं मिनेटमा मुकेश राईले गोल गर्दै टिमको अग्रता घटाए । विकल राईले खेलको १८औं र १९औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे । पहिलो हाफमा ५ गोल भएको खेलको दोस्रो हाफमा भने कुनै पनि गोल हुन सकेन ।
सेमिफाइनल खेलमा बाझो ३ ले बाँझो ४ लाई ७-१ गोल अन्तरको फराकिलो जित निकाल्दै फाईनल प्रवेश गरेको थियो भने उपविजेता बाँझो १ ले बाँझो ६ लाई ४-२ गोल अन्तरले हराउदै उपाधि भिडन्त पक्का गरेको थियो ।
व्यक्तिगत विधातर्फ खेलको उत्कृष्ट खेलाडी उपविजेता टिमका निर्मल राई घोषित भए भने उत्कृष्ट गोल रक्षक बाँझो ६ का सुदिप राई चुनिए ।
बाँझो ३ नै महिला फुटबलको च्याम्पियन
यसै प्रतियोगिता अन्तर्गत भएको महिला फुटबल खेलमा बाझो ५ लाई हराउदै बाँझो ३ नै विजेता बनेको छ । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा पाएको अवसर दुवै टोलिले सदुपयोग गर्न नसक्दा कुनै पनि गोल हुन सकेन ।
दोस्रो हाफको ६औं मिनेटमा बाँझो ३ का टिम क्याप्टेन सुमिका राईले गोल गर्दै टिमलाई अग्रता दिलाइन् । बाँकी निर्धारित समयमा कुनै पनि गोल हुन सकेन र खेल १-० को अन्तरमा सकियो ।
विजेता टिमले सेमिफाइनल खेलमा गत वर्षको विजेता बाँझो ४ लाई १-० को गोल अन्तर हराएको थियो भने उपविजेताटिमले बाँझो ६ लाई १-० ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।
खेलको उत्कृष्ट खेलाडीको पुरस्कार बाँझो ४ कि शिला राईले पाउदा उत्कृष्ट गोल किपरको उपाधि उपविजेता टिमकि रोमिया राईले पाइन् ।
भेट्रान्स फुटबलको उपाधि बाँझो ६ लाई
सोहि प्रतियोगितामा भएको भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि भने बाँझो ६ ले जितेको छ । फाइनल खेलमा बाँझो ३ लाई हराउदै ६ ले उपाधि हात पारेको हो । भेट्रान्स फुटबलको उत्कृष्ट खेलाडी नोवल राई घोषित हुदा उत्कृष्ट गोल किपर उपाधि बाँझो ४ का भविन्द्र खड्काले हात पारे ।
विजेता पुरुष तथा महिला टिमले नगद रु ३० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाए भने उपविजेता टिमले नगद रु २० हजार सहित ट्रफि, मेडल र प्रमाणमा चित्त बुझाए । त्यस्तै भेट्रान्स फुटबलको विजेता नगद २० हजार र उपविजेताले नगद १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाए ।
विजेता खेलाडीहरुलाई कार्यक्रममा प्रमुख अतिथि माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोद नेम्बाङ सहित अतिथिहरु पालिका प्रवक्ता सुसन राई, माङसेबुङ ६ का वडाअध्यक्ष प्रदिप साङपाङ लगायतका अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।