२९ जेठ, जनकपुरधाम ।
जनता समाजवादी पार्टी नेपालले नेकपा एमालेलाई एकै साथ संसदवादी र कम्युनिष्ट बन्ने अन्तरविरोधपूर्ण बाटोमा हिँडेको भन्दै ‘अँध्यारो सुरुङभित्र यात्रा गरिरहेको’ भनेको छ ।
जसपा नेपालको जारी एकताको पहिलो राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा एमाले बारे जसपा नेपालको यस्तो विश्लेषण उल्लेख भएको हो ।
संविधान जारी गर्दा काँग्रेससँग मिलेर मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिम, खसआर्य, दलित, महिला, पिछडावर्ग आदि आन्दोलनमा निर्मम दमन गरेको भन्दै जसपा नेपालले एमालेलाई उदारवादी लोकतन्त्रको पक्षपाती बनेको आरोप लगाएको छ ।
‘दार्शनिक, वैचारिक रूपमा अन्योलग्रस्त र नैतिक रूपमा स्खलित भइसकेको पार्टी संगठनात्मक रूपमा मात्र लामो समय बलियो भइरहन सक्दैन । आउँदा केही वर्ष वा दशकभित्र कम्युनिष्ट पार्टीहरु भविष्यमा फेरि उठ्न नसक्ने गरी पतनको दिशामा अभिमुख छ । एमालेको राजनीतिक व्यवहार र सञ्चालन गरिरहेको सरकारले यहि कुरा पुष्टि गर्दछ’, प्रतिवेदनमा भनिएको छ ।
जसपा नेपालले एमालेलाई निर्दलीय व्यवस्थाको पञ्चहरु भन्दा तल्लोस्तरको क्रियाकलाप र चरित्रको भन्दै पहिचान, समानुपातिक समावेशी, सहभागितामूलक तथा प्रत्यक्ष लोकतन्त्र र राष्ट्रिय/जातीय, वर्गीय, लैङ्गिक मुक्तिको विरुद्धमा रहेको आरोप लगाएको छ ।