४ साउन, दमक ।
राष्ट्रपति रामचन्द्र पौडेलले युक्रेनको सैन्य हिरासतमा रहेका ६ जना नेपालीको रिहाइ र स्वदेश फिर्ताका लागि सहजीकरण गरिदिन जर्मनीसँग आग्रह गरेका छन् । जर्मनी भ्रमणका रहेका राष्ट्रपति पौडेलले सोमबार बर्लिनस्थित राष्ट्रपति भवनमा समकक्षी फ्रयांक वाल्टर स्टाइनमायरसँग कुराकानीका क्रममा यस्तो आग्रह गरेका हुन् ।
औपचारिक द्विपक्षीय वार्तामा पौडेलले युक्रेनी सैन्य हिरासतमा रहेका नेपालीको रिहाइका लागि जर्मनीको सहयोगको अपेक्षासहित जोड दिएका थिए ।
राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार डा. सुरेशचन्द्र चालिसेका अनुसार पौडलले युक्रेनमा बन्दक बनाइएका नेपाली युवाहरुको रिहाइका लागि पहल गरिदिन जर्मनीका समकक्षीसँग आग्रह गरेका थिए । जवाफमा जर्मनीका राष्ट्रपतिले यो विषयलाई सकारात्मक रूपमा हेर्ने जवाफ दिएको चालिसेले सञ्चार माध्यमहरुमा बताएका छन् ।
परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार हाल बर्दियाका विवेक खत्री, मोरङका विकास राई, काभ्रेका सिद्धार्थ ढकाल, रोल्पाका प्रतीक पुन, चितवनका सुजन सुवेदी र मकवानपुरका ईश्वर लामिछाने युक्रेनी सेनाको नियन्त्रणमा छन् । उनहरु फरक फरक मितिमा रुसी सेनामा कार्यरत रहेको अवस्थामा युक्रेनी सेनाको नियन्त्रणमा परेका बताइएको छ ।
रुस–युक्रेन युद्धमा नेटो सदस्य राष्ट्र जर्मनीले युक्रेनलाई सैन्य सहायता प्रदान गर्दै आएको छ ।