मेचीनगर । पाँचौ संस्करणको मेचीनगर गोल्डकपको प्रत्यक्ष प्रशारण खेलाडी डटकमले गर्ने भएको छ ।
आज गोल्डकपको सचिवालयमा आयोजित एक कार्यक्रमका बीच प्रतियोगिताको प्रत्यक्ष प्रशारणका लागि खेलाडी डटकमका प्रदेश न : १ का प्रमुख बुद्ध तामाङ र प्रतियोगिता संयोजक श्रीप्रसाद मैनालीले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
कार्यक्रम मेचीनगर गोल्डकप मुल आयोजक समितिका संयोजक श्रीप्रसाद मैनालीको अध्यक्षता र मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपाल चन्द्र बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो ।
सहसंयोजक एवम् मेचीनगरका पूर्व नगरप्रमुख विमल आचार्य, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मगर (मामा), आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष दिनेश ओली लगायतले आफ्ना भनाईहरू राखेका थिए ।
काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा फागुन २४ देखि हुने प्रतियोगिता आयोजक ‘ए’ डिभिजनका तीन, दुई भारतीय र नेपाल सुपर लिग(एनएसएल)को एकसहित आठ टिमको सहभागिता रहने छ ।
प्रतियोगितामा ‘ए’ डिभिजनका एपिएफ क्लब, मछिन्द्र क्लब, चर्च ब्वाइज युनाइटेड, भारतका जर्जियन युनाइटेड र ग्लोबल एफसी, एनएसएल टोली झापा एफसी, आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर तथा धरान फुटबल क्लबले प्रतिस्पर्धा गर्ने झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आलेले जानकारी दिए ।
चैत २ गते हुने फाइनल खेलको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्ने मुल आयोजक समितिका अध्यक्ष नवराज ओलीले बताए ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार र ट्रफी पाउँदा उच्च गोलकर्ताले नगद २५ हजार र ट्रफी पाउनेछ । उत्कृष्ट प्रशिक्षक र गोलकिपरले नगद २१ हजार र ट्रफी तथा उदीयमान खेलाडीले नगद ११ हजार र ट्रफी पाउनेछ ।भने प्रत्येक दिनको प्लेयर अफ म्याचले नगद ११ हजार र ट्रफी पाउनेछ ।