adv

मेचीनगर गोल्डकपः काँकरभिट्टा र चर्च ब्वाइजको दाउ उपाधि

झापा । आयोजक काँकरभिट्टा ट्रेनिङ सेन्टर र चर्च ब्वाइज युनाइटेडले शनिबार हुने मेचीनगर गोल्डकपको उपाधि जित्न खेल्ने बताएका छन् । फाइनल खेल दिउसो ३ बजे मेचीनगरस्थित काँकरभिट्टा खेल मैदानमा हुनेछ । फाइनलको टिकटदर एक सय तोकिएको छ ।

फाइनल अघि शुक्रबार भएको पत्रकार सम्मेलनमा बोल्दै दुबै टोलीका कप्तान र प्रशिक्षकले पहिलो पटक च्याम्पियन बन्न टोली तयार रहेको सुनाए ।

चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठ फाइनल अघि एक दिन विश्राम पाउँदा टिमलाई सहज हुने बताएका छन् । ‘ फाइनल अघि एकदिन विश्राम पाएका छौं । लगातार खेल्दा गाह्रो भएको थियो । फाइनल जित्न खेल्नेछौं । तर, विपक्षीलाई कमजोर लिँदैनौं ।’

पाँच वर्षपछि प्रतियोगिता हुँदा नयाँ च्याम्पियन पाउने टुंगो लागेको छ । २०७१ सालबाट सुरु भएको प्रतियोगिताको पहिलो उपाधि विर्तामोड युनाइटेड, दोस्रो पटक झापा ११, तेस्रो पटक विभागीय टोली त्रिभुवन आर्मी क्लब र चौथो संस्करण अर्काे विभागीय टोली नेपाल पुलिस क्लब च्याम्पियन भएको थियो ।

श्रेष्ठको प्रशिक्षणमा चर्च ब्वाइजले यसपटक झापा कप, बागमती गोल्डकप र फाल्गुनन्द गोल्डकपको उपाधि जितिसकेको छ । यसपटक मोेफसलमा चर्च ब्वाइजले खेलेको १० मध्ये आठ प्रतियोगितामा फाइनलमा स्थान बनाएको छ ।

कप्तान एकराज बुढाथोकीले लगातार खेल्दा थकित भएपनि मोसफलको अन्तिम प्रतियोगिता हुँदा जित्न खेल्ने प्रतिक्रिया दिएका छन् । चर्च ब्वाइजले प्रतियोगिताको पहिलो खेलमा नेपाल सुपर लिग (एनएसएल) को झापा एफसीलाई सेडनडेथमा हराएको थियो । सेमिफाइनलमा मए डिभिजन लिग पूर्व विजेता मछिन्द्र एफसीविरुद्ध कमब्याक गर्दै ४–३ को जित निकाल्न सफल भएको हो ।

सेमिफाइनलमा विदेशी खेलाडी अबयोमी फाकुन्लेले ह्याट्रिक गरेको थिए । उनीसँगै टिममा नेपाल राष्ट्रिय टिमबाट खेलिसकेका सुरज जिउ ठकुरी, नेपालको उमेर समूहबाट खेलेका समिर तामाङ, राजेश परियार, जया गुरुङ, गौरव श्रेष्ठ टिममा छन् । विदेशी खेलाडी सर्ज डिका र रिचार्ड विल्सनको प्रदर्शनले टोलीको आत्मविश्वास बढाएको छ ।

यता, आयोजक काँकरभिट्टा समेत घरेलु समर्थकको साथ घरमै उपाधि राख्ने योजनामा छ । यस सिजन पहिलो पटक फाइनलमा स्थान बनाएको आयोजक भने पहिलो अवसर नै उपाधि जित्ने दाउमा छ ।

प्रशिक्षक मुन्ना सुब्बाले घरमै उपाधि राख्न तयार रहेको बताएका छन् । ‘हामीसँग जति खेलाडी छन् । ती सबै क्षमतावान छन् । चर्च ब्वाइज बलियो टोली हो । तर, हामी घरमै उपाधि राख्न खेल्छौं । घरेलु समर्थकलाई खुसी दिनेछौँ ।’

टिमका उपकप्तान दिवस उराउले पनि उपाधि जित्न खेल्ने बताए । आयोजक काँकरभिट्टाले पहिलो खेलमा भारतको जर्जियन एफसीलाई ४–२ तथा सेमिफाइनलमा धरान एफसीलाई सेडनडेथमा हराउँदै उपाधि नजिक पुगेको हो ।

टोलीमा कप्तान खामिर गिल्सानसँगै गोलकिपर विश्वास चौधरी, दिवस, पासाङ लामा, विवेक गुरुङ, निशान लिम्बू जस्ता खेलाडी छन् । विदेशी खेलाडी रोबार्ट, इब्राहिम र फ्राङ्कुलिन कुइटे टलाले पनि घरेलु समर्थकको मनजित्ने प्रदर्शन गर्दै आएका छन् । फाइनलमा पनि टिमले उनीहरुसँग ठूलै आशा गरेको छ ।

झापा जिल्ला फुटबल संघ र मेचीनगर खेकुद विकास समितिको प्राविधिक सहयोग रहने प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

होटल मेची क्राउन मुख्य प्रायोजक रहेको प्रतियोगिताका सर्वोकृष्ट खेलाडीले ५१ हजार, उच्च गोलकर्ताले २५ हजार तथा उत्कृष्ट गोलकिपर र प्रशिक्षकले समान २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यसैगरी उदीयमान खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन् ।

२४ फागुनबाट सुरु भएको प्रतियोगिताको फाइनलको सम्पूर्ण तयारी पूरा भएको संयोजक श्रीप्रसाद मैनालीले बताएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु