
सजन राई, माङसेबुङ । इलामको माङसेबुङ ३ साबिक बाँझो ७ को ऐतिहासिक ठाडो मूल बाटो हिँड्दा भेटिन्छ बाटोमै ठूलठूलो ढुङ्गाको तीन चुला । हेर्दा लाग्छ यो कसैले ढुङ्गा गाडेर बनाएको चुला हो । तर यसको कथा बेग्लै छ । स्थानीय जानकारहरुका अनुसार यो ढुङ्गाको चुला प्राकृतिक हो । स्थानीय वृद्धवृद्धाहरु समेत आफूले जान्दा ढुङ्गाको चुला सोही आकृतिमा रहेको बताउँछन् । उहिलेको समयमा यति ठूलो ढुङ्गा मानिसले गाडेर चुला बनाउन सम्भव नै नहुने स्थानीय पाका मानिसहरुको बुझाइ छ । न त अहिलेको जस्तो प्रविधि र उपकरण नै उपलब्ध थिए ।
पश्चिमी इलाम सहित पाँचथरको पश्चिम दक्षिण भेगका मानिसहरुको खाद्यान्न ढुवानी गर्ने बाटोको रूपमा कुनै समयको स्थापित ढुङ्गाले छापेको मूलबाटोमै पर्ने यो तीन चुलाले दशकौँ लामो याद जिवित राखेको छ । पहाडी भेगबाट मानिसहरु अलैँची, अम्लिसो लगायत नगदेबालीको भारी बोकेर मोरङको मधुमल्ला बजार लगेर बेच्ने गर्दथे । यसरी इलाम र पाँचथरलाई गुण लगाएको मधुमल्ला पूर्वकै पुरानो बजारको रुपमा परिचित रहेको छ ।
मूलबाटोमा रहेको ढुङ्गाको तीन चुला
यसैगरी मधुमल्लाबाट फर्कदा चामल, नून, तेल, लत्ताकपडा उसैगरी बोकेर ल्याउनु पर्दथ्यो । यी यात्राका क्रममा थाकेका बटुवाहरुका निम्ति विभिन्न ठाउँमा चौतारीहरु बनाइएका थिए, जहाँ उनीहरु थकाई मार्थे र आराम गर्दथे । कतै वर–पिपलको शितल छहारी त कतै केमुनाको अजङ्गको रुखमुनिको छायाँमा बसेर लामो सुस्केरा हाल्दै भविष्य सम्झने ती यात्रीहरु अझै भेटिन्छन् । यस्तै विश्रामस्थलहरु मध्येको एक तीन चुलाबारे विभिन्न किंवदन्तीहरु रहेका छन् । भगवान शिवले भेडीगोठ सार्दा चुला बनाएको र त्यसमा खीर पकाएर खाएको भन्ने विश्वास रहेको छ ।
अर्को भनाइलाई आधार मान्ने हो भने उहिले अजाहाङ राजाले तराईबाट आफ्नो राज्य चाङ्धुम्बो यक फर्किने क्रममा खाना पकाइ खाएको भन्ने कथन छ । जे होस यो चुला ऐतिहासिक भने छ ।
यो बाटोबाट यात्रा गर्ने यात्रीहरु यहाँ पाती, पैसा र सानो ढुङ्गा चढाएर हिड्ने गर्छन् । अहिले भने सडक यातायातको विकाससँगै बाटो हिड्ने बटुवाहरु लगभग भेटिनै मुस्किल परिसकेको अवस्था छ । तर ओझेल पर्दै गएको यो ऐतिहासिक बाटो र यहाँका पुरातात्विक सम्पदाहरुको संरक्षणमा स्थानीय लागि परेका छन् ।
यसै तीन चुलाको विकास र प्रवर्द्धनको लागि यस क्षेत्रको नाम तीन चुला टोल विकास संस्था राखिएको छ । यस क्षेत्रमा लाक्तापा, ढुङ्गे, असारेबारी, कुटेबारीलगायत टोलहरु समावेश छन् । ९९% राई जातिको जनसंख्या रहेको यस टोल विकासले प्रत्येक शनिबार श्रमदान गर्दै मूलबाटोको सरसफाईसँगै विभिन्न प्रकारका बोटबिरुवा वृक्षरोपण गर्ने गरेका छन् । घाँस दाउरा र गोठाला गर्ने ठाउँ मात्र रहेको यस क्षेत्रलाई अहिले त्यहाँका सक्रिय युवाहरुको पहलमा पर्यटक भित्र्याउने लक्ष्यसहित काम भइरहेको छ ।
तीन चुलाको संरक्षण र विकासका लागि डिपिआरसमेत भइसकेको माङसेबुङ गाउँपालिका प्रवक्ता सुसन राईले जानकारी दिए । उनका अनुसार यस क्षेत्रको पुरानो इतिहासलाई असर नगर्ने गरी विकास गर्ने लक्ष्य रहेको छ । कंक्रिटको विकासलाई भने स्थानीयले नकार्दै आइरहेका छन् ।
यो ठाउँबाट तराईको समथर फाँटसँगै चुरे क्षेत्रको मनमोहक दुश्य देख्न सकिन्छ । रातको समयमा छिमेकी जिल्ला झापाको ठूला बजारहरु दमक, विर्तामोड, मोरङको मधुमल्ला, उर्लाबारी, विराटनगर र भारतको केही भूभाग झिलिमिली देख्न सकिन्छ ।
किरात राई समुदायमा तीन चुलाको विशेष महत्व रहेको छ । उनीहरु तीन चुलालाई सुप्तुलुङ भन्दछन् । सुप्तुलुङको अर्थ पवित्र ढुङ्गा भन्ने हुन्छ । उनीहरुले चुलालाई पितृको रूपमा माङ गर्ने र पूजा गर्ने गर्दछन् । विशेष गरेर उभौली र उधौली चाडमा चुलाको माङ, पूजा गरिन्छ । अन्य समयमा नयाँ बाली भित्र्याउँदा नुवाङ्गी पूजा साथै विवाह तथा मृत्युमा समेत चुलाको महत्त्व रहेको छ ।
तीन चुला अन्तर्गत उत्तरतर्फको चुलालाई दिवालुङ अथवा पापालुङ (पित्र–माङ–सृष्टि), पश्चिमतर्फको चुला छेकुलुङ अथवा मामालुङ(छोरी–चेली–धरती–प्रकृति) हो । त्यस्तै, पूर्वतर्फको तेस्रो चुला रुमिलुङ (सन्तान, दाजुभाइ र समाज) को प्रतीक मानिन्छ ।
तीन चुले क्षेत्रबाट राति देखिएको तराईको झिलिमिली
तीन चुला वर्तमान समयमा संकटमा पर्दै गइरहेको स्थानीय युवा छविहाङ राई बताउछन् । राई भन्छन् – ‘अहिले आधुनिक जीवनशैली र शिक्षाका कारण मानिसहरु आफ्नो संस्कार संस्कृति बिर्सदै गइरहेको अवस्था छ । यसरी बिर्सदै जाने हो भने हामी पछिको पीढीलाई यो कुराहरु दन्तेकथा जस्तो मात्र लाग्छ । त्यसैले पनि हामी आफै सचेत नभए संस्कृति नै लोप हुने खतरा छ ।’






