माङसेबुङ । इलामको माङसेबुङमा बेसार प्रशोधन केन्द्रको उद्घाटन भएको छ । माङसेबुङ गाउँपालिका–१ स्थित गजुरमुखीमा स्थापना गरिएको प्रशोधन केन्द्रको आइतबार माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले उद्घाटन गरे । महिला गजुरमुखी बहुउद्देश्यीय सहकारी संस्थासँगको सहकार्यमा माङसेबुङ गाउँपालिकाले बेसार प्रशोधन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको हो ।

स्थानीय किसानले उत्पादन गरेको बेसारलाई माङसेबुङको बेसार नामकरण गरी ब्राण्डिङ गरिएको छ । ‘बेसार प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत गाउँपालिकाको छ लाख ७५ हजार (७० प्रतिशत) र सहकारी संस्थाको दुई लाख ८९ हजार (३० प्रतिशत) लागत साझेदारी गरीकूल नौ लाख ६४ हजारको लागतमा बेसार प्रशोधन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए ।
कृषिको व्यावसायीकरण तथा बजारीकरणका माध्यमबाट रोजगारी सिर्जना गरी गरिबी घटाउने उद्धेश्यले माङसेबुङ १ मा महिला गजुरमुखी बहुउद्देश्यीय सहकारी संस्था, स्थानीय एग्रो इलाम प्रालि र वडा कार्यालयबीच २०८० सालमा नै १३ बुँदे सम्झौता गरी बेसार उत्पादन र प्रवर्द्धन सुरु भएको थियो । पहिलो चरणमा वडा कार्यालयले एग्रो इलामसँगको समन्वयमा कृषि उद्यमशीलता तथा बेसारखेती अभिमुखीकरण तालिम दिएर किसानलाई बेसारको बीउ वितरण समेत गरेको थियो ।


