
मेचीनगर । किरात याक्थुङ चुम्लुङको ३७औं स्थापना दिवस विविध कार्यक्रमविच भव्य रुपमा मनाइएको छ ।
किरात याक्थुङ चुम्लुङ मेचीनगर समितिले मंगलबार इट्टाभट्टामा अवस्थित आफ्नै भवनमा विविध सास्कृतिक कार्यक्रमगरी३७औं स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा मेचीनगरभित्रका सामुदायिक विधालयका एसइइमा उत्कृष्ट जिपिए ल्याउने छात्र र छात्रालाई संस्थाको जग्गादाता स्व क्याप्टेन डम्बर बहादुर इधिङगो स्मृति अक्षयकोषबाट नगद ५ हजार रूपैंया सहित सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा मेचीनगर १२,सरस्वती बाल कल्याण माबिकी स्मेरिका सेनेहाङ (जिपीए ३.७९ ) र मेचीनगर ११, बलभद्र जनतामाबिका दिवस लिम्बु (जिपिए २.५८)रहेका छन् ।

गायक तथा संगितकारहरू कुशल थलङ लिम्बू र उत्तमजंग लावती लिम्बूको बेजोड सांगितीक प्रस्तुति रहेको कार्यक्रममा मेचीनगरका विभिन्न वडाहरूबाट केलाङ, याःलाङ ,ख्याली साथै विभिन्न सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिएका थिए ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मेचीनगरका प्रमुख गोपाल चन्द्र बुढाथोकीले याक्थुङ बाजा के (च्याब्रुङ) बजाएर तथा पानसमा दिप प्रज्वलन गरेर गरेका थिए ।
किरात याक्थुङ चुम्लुङ मेचीनगरका अध्यक्ष बिर बहादुर बेघा (बिरू) को अध्यक्षकतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङचुम्लुङ मेचीनगरका पूर्व अध्यक्षहरू हर्क फ्याक,धनप्रसाद केरूङ, किरात याक्थुङ चुम्लुङ झापाका पूर्व अध्यक्ष टेक बहादुर लिम्बू, किरात याक्थुङ चुम्लुङ मेचीनगर जिल्ला उपाध्यक्ष हस्त आङदेम्बे, किराक याक्थुङ चुम्लुङ संघिय समितिका सल्लाहकार जीत बहादुर लावती,समाजसेवी प्रेम सम्बाहाम्फे,नेपाल आदिवासी जनजाति महासंघ मेचीनगरका अध्यक्ष राम बहादुर वाइवा तथा विभिन्न जातीय संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको आथित्यता रहेको थियो ।

कार्यक्रममा कियाचू उपाध्यक्ष ओम प्रकाश खापुङले स्वागत गरेका थिए भने पूर्व अध्यक्ष दिलिप आङदेम्बेले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने सञ्चालन सचिव राजेन्द्र इधिङगो र सह-सचिव भुमिका फियाक लिम्बूले गरेका थिए ।

