
९ जेठ, ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा दोस्रो सिरिजंघा पर्यटन महोत्सव हुने भएको छ । सिरिजंघा गाउँपालिका–१ सिनामस्थित क्लबले सदरमुकाम फुङ्लिङमा आज पत्रकार सम्मेलन गर्दै पर्यटन महोत्सवबारे जानकारी गराएको हो ।
सिरिजंघा गाउँपालिकाको आर्थिक व्यवस्थापन तथा सिनाम युनाइटेड खेलकुद तथा सांस्कृतिक क्लबको आयोजनामा आउँदो जेठ १५ देखि १७ गतेसम्म महोत्सव सन्चालन हुनेछ ।
क्लबका अध्यक्ष अम्बिका थेबेका अनुसार सिरिजंघा गाउँपालिका–८ याम्फुदिनको छुमादिनमा आयोजना हुने महोत्सव आयोजना गरिने भएको छ । कञ्चनजंघा हिमालको प्रचारप्रसार र पर्यटन प्रवर्द्धन तथा दक्षिणी आधार शिविर जाने पदमार्ग स्थापित गरी बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउने उद्देश्यसमेत राखेर महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष थेबेले बताए ।
महोत्सवमा साहसिक म्याराथन, सांस्कृतिक तथा सांगीतिक कार्यक्रम लगायतका गतिविधि गरिने क्लबका सचिव नरेश गुरुङले जानकारी दिए । गुरुङका अनुसार महोत्सवको मुख्य आकर्षणको रूपमा खुला म्याराथन हुनेछ । म्याराथनमा सहभागी हुनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकहरूसँग सम्पर्क गरिरहेको बताए । म्याराथन कार्यक्रमस्थल निर्धारित ४२ किलोमिटर दूरी छुमादिनदेखि चार हजार २०० मिटर उचाइ रहेको दुन्दुडाँडासम्म पुगेर छुमादिन आइपुग्नुपर्ने छ ।
म्याराथनका विजेताले १९६ तोला चाँदीजडित रनिङ ट्रफीसहित एक लाख आठ हजार ५८५ रुपैयाँ नगद पुरस्कार पाउने सहआयोजक खेवाद स्पोर्टिङ क्लबका प्रतिनिधि अमिर राईले जानकारी दिए । राईका अनुसार ट्रफी पच गर्नका लागि भने एकैजना धावकले लगातार म्याराथनमा तीन पटक जित्नुपर्ने अर्थात प्रथम हुनुपर्ने छ । यस्तै म्याराथनमा दोस्रो हुनेले ५८ हजार ५८५ रुपैयाँ र तेस्रो हुनेले २८ हजार ५८५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् ।
साथै १७ गते सांझ राष्ट्रिय कलाकारहरू गायक दिपक लिम्बू,पदम राई गायिका जुनु खालिङ,र्यापर एक्का लामा तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ ।
महोत्सव सम्पन्न गर्नका लागि ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको सचिव गुरूङले बताए । गत वर्ष वैशाख दोस्रो साता सिरिजंघा गाउँपालिका आफैं आयोजक भएर सम्पन्न गरेको प्रथम महोत्सवमा ५४ लाख रुपैयाँभन्दा बढी खर्च भएको थियो । पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार लिम्बु (गणेश), क्लबका अन्य पदाधिकारी, स्थानीय बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।

