adv

एसईई पास भएका सबैले ११ कक्षा पढ्न नपाइन सक्ने

माध्यमिक शिक्षा परीक्षा अर्थात एसईईमा ‘कोही पनि फेल नहुने’ प्रणाली लागू गरिएको छ । तर, पास भएका सबै विद्यार्थीले कक्षा ११ मा भर्ना हुन भने पाउँने छैन । फेल र पासको व्यवस्थाले विद्यार्थीमा नकारात्मक प्रभाव पर्यो भनेर सरकारले ‘कोही पनि फेल नहुने’ नीति लागू गरेको बताए पनि यसले विद्यार्थी र अभिभावकलाई अन्योल बढाएको छ । पास भइहालिन्छ भन्ने भ्रमका कारण विद्यार्थीले मेहनत नै नगरेको पाइएको शिक्षाविदहरुले बताएका छन् ।

२०७४ सालको एसईईको नतिजामा सबै ‘पास’ त भए तर ‘पास’ भएका सबै विद्यार्थीले अघिल्लो कक्षामा भर्ना हुन भने पाउँदैनन् । १ दशमलव ६ सम्म जीपीए ल्याएका विद्यार्थीले ११ कक्षामा भर्ना हुन पाउने प्रावधान भए पनि यसका लागि अरु पनि प्रावधान पूरा गर्नुपर्ने हुन्छ । जस्तो विज्ञान संकायमा ११ कक्षामा भर्ना हुन २ जीपीएका साथमा विज्ञान र अनिवार्य गणितमा सी प्लस तथा सामाजिक, अंग्रेजी र नेपालीमा डी प्लस आएकै हुनुपर्नेछ ।

यस्तै, समग्रमा १ दशमलव ६ जीपीए आएकाले व्यवस्थापन संकायमा ११ कक्षा भर्ना हुन पाउने भए पनि त्यसका लागि अंग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिकमा डी प्लस जीपीए ल्याएकै हुनुपर्छ ।

त्यसैगरि, मानविकी संकाय पढ्न कम्तिमा १ दशमलव ६ जीपीएसम्म ल्याएका विद्यार्थीले पाउँछन् तर, उनीहरुले अनिवार्य विषय अंग्रेजी, नेपाली, र सामाजिकमा डी प्लस आएकै हुनपर्छ । यस्तै अंग्रेजी, नेपाली समाजशास्त्र, आमसञ्चार तथा पत्रकारिता, ग्रामीण विकास विषय पढ्न समग्रमा कम्तीमा १ दशमलव ६ जीपीएका साथमा नेपाली, अंग्रेजी र सामाजिकमा डी प्लस ग्रेड ल्याउनैपर्छ । विज्ञान र गणितमा भने ई जीपीए ल्याए पनि फरक पर्दैन ।

शिक्षाशास्त्र संकाय पढ्न पनि १ दशमलव ६ जीपीए ल्याएका विद्यार्थीको अंग्रेजी नेपाली र सामाजिक विषयमा डी प्लस कम्तीमा आएकै हुनपर्ने व्यवस्था छ । अझ शिक्षा शास्त्रको विज्ञान विषय पढ्न भने विज्ञान र गणितमा पनि डी प्लस ल्याउनैपर्छ ।

सरकारले ‘पास’ भनेका शून्य दशमलव ८५ देखि १ दशमलव ६ सम्म जीपीए ल्याउने विद्यार्थीले कुनैपनि विषयमा ११ कक्षामा भर्ना पाउँदैनन् । भलै, उनीहरु यसअघिको पुरक परीक्षामा जस्तै स्तरोन्नती गर्न मिल्ने (ग्रेड बृद्धि)को परीक्षामा सहभागि हुन सक्छन् । जहाँ उनीहरुले जीपीए बढाउने सम्भावना रहन्छ । २ भन्दा कम जीपीए ल्याएका विद्यार्थीले लोकसेवाको प रिक्षा दिन पाउँने छैनन् ।

त्यसैले, एसईई परीक्षामा पास भएको भनेर मख्ख पर्नुको साटो कुन–कुन विषयमा कुन ग्रेड आयो र त्यो ग्रेडले आफूले चाहेको विषय पढ्न पाइन्छ कि पाइदैन भन्ने निक्र्यौल गर्न आवश्यक देखिन्छ ।

जीपीए, ग्रेड, तथा कुन विषय पढ्न कुन विषयमा कुन ग्रेड ल्याएको हुनुपर्ने भन्ने कुरा बुझ्न निकै झण्झटिलो भएकाले यसका लागि आफ्नो विद्यालयमा सम्पर्क गर्न शिक्षाविदहरुले सुझाव दिएका छन् ।

सी डी प्लस डी र ई जीपीए ल्याएका विद्यार्थीले स्तरबृद्धिका लागि परीक्षा दिन पाउँछन् । ग्रेड बृद्धिको परीक्षा आउँदो साउन २३ गतेदेखि सञ्चालन हुनेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु