adv

५ महिनामै खाल्डाखुल्डी पुरेर सकिदैन : प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत रुपमा आफूलाई शक्तिशाली हुने चाहना नभएको बताएका छन् ।

राष्ट्रियसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले आफूले आधा शताब्दी लडेको व्यक्तिगत रुपमा शक्तिशाली हुन नभई मुलुकलाई समृद्ध बनाउन र देशवासीलाई सुखी बनाउनका लागि भएको जिकिर गरे ।

‘मैले मेरो उद्देश्य भुलेको छैन । कहिले पनि भु्ल्दिन । मैले लडेको देशलाई समृद्ध बनाउन र देशका जनतालाई सुखी बनाउन हो’ उनले भने ‘वैयक्तिक तबरमा शक्तिशाली हुने इच्छा छैन । म शक्ति केन्द्रित गर्न चाहन्न । तर सरकार शक्तिशाली चाहिन्छ ।’

सरकार शक्तिशाली हुनुको अर्थ अहंकार पाल्ने र संविधान र कानुन विपरीत चल्नु नभएको पनि प्रधानमन्त्री ओलीले बताए । ‘यसको अर्थ दम्भ राख्ने अहंकार पाल्ने संविधान कानुन विपरीत चल्ने, हामीले जे गरे पनि हुन्छ भन्ने मलाइ लाग्दैन’ प्रधानमन्त्री ओलीले भने ।

आफूले लोकतन्त्रका लागि लडेको र ७७ जिल्लाकै वासिन्दाको समस्या बुझेको पनि उनले जिकिर गरे ।

प्रधानमन्त्री ओलीले तुइनको ठाउँमा केवलकार राखेर भए पनि नेपालीको छोराछोरीलाई खोलामा खस्ने वातावरण अन्त्य गर्ने जिकिर गरे ।

‘तुइनको तार टाँगेको ठाउँमा केवलकार किन टाँगिदैन ?’ उनले प्रश्न गरे ‘केही बढी पैसा खर्च गरेर भए पनि नेपालीको छोराछोरी खोलामा खसेको म देख्न सक्दिन ।’ नेपाललाई तुइनमुक्त देश बनाउने उनले बताए । प्रधानमन्त्री ओलीले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने प्रधानमन्त्री पाएकोमा खुशी हुन प्रतिपक्षीहरुलाई पनि आग्रह गरे ।

त्यस्तै, प्रधानमन्त्री ओलीले सरकार बनेको ५ महिनामात्रै भएकाले सडकका सबै खाल्डाखुल्डी पुरेर नसकिने प्रष्टीकरण दिएका छन् । उनले दशकौंदेखि परेका खाल्डो ४/५ महिनामै पुरेर नसक्ने बताएका हुन् ।

‘दशकौंदेखि खाल्डो परेका छन् । ४/५ महिनामा सलल हिँड्ने बनाउनुपथ्र्यो, तर माननीयज्यूहरुले जति विश्वास गरे पनि ४/५ महिनामा कति काम गर्न सकिन्छ भन्ने त्यसको सीमा हुन्छ’ उनले भने ।

अहिलेसम्म खाल्डाखुल्डी कति छ भन्ने रेकर्ड पनि संकलन गरेर नभ्याएको प्रधानमन्त्री ओलीले बताए । ‘सबै कुराको रेकर्ड पनि छैन । कहाँ कहाँ भत्केको छ । अनि स्टे अर्डरले पनि हैरान पारेको छ । बाटो बनाउन गयो अघि अघि स्टे अर्डर आइसक्छ । सम्मानित अदालतको फैसला मान्नैपर्‍यो’ उनले भने ।

प्रधानमन्त्री कार्यालयमा चिनी नहालेको चिया खाइन्छ ?

प्रधानमन्त्री ओलीले यो सरकारले मितव्ययिताको नीति अपनाएको जिकिर गरे । ‘प्रधानमन्त्री कार्यालयमा आउनुभयो भने दूध चिनी नहालेको चिया खाएको देख्नु्हुन्छ’ उनले भने ‘यहाँलाई पनि त्यस्तो कुराले नै स्वागत गरिन्छ । त्यहाँ त्यस्तो कु्नै खानेकुराले स्वागत गरिदैन ।’

प्रधानमन्त्री ओलीले जनताको करबाट आएको हरेक रकम मितव्ययिताको साथ सदुपयोग र खर्च गर्ने जिकिर गरे ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु