नुवाकोट – त्रिशूली जलविद्युत आयोजनाको विद्युत गृहमा आगलागी भएको छ ।
दिउँसो साढे १२ बजेतिर विद्युत गृहभित्रको ब्रेकरबाट आगो लाग्न शुरु भएको र आगो फैलिएको आयोजनाका इञ्जिनियर गुञ्जमान तामाङले बताउनुभयो । १६ वटामध्ये ४ वटा ब्रेकर र केही उपकरणमा क्षति भएको उहाँको भनाई छ । आगोलागी झण्डै ४ घण्टापछि पूर्ण रुपमा नियन्त्रणमा आएको उहाँले बताउनुभयो ।
उत्पादित बिजुली बाहिर वितरण गर्ने र बन्द गर्ने जेनेरेटर ब्रेकरमै आगलागी भएकाले विद्युत उत्पान पूर्ण रुपमा बन्द भएको इञ्जिनियर तामाङको भनाई छ । २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत आयोजनामा आगलागी भएपछि विद्युत आपूर्ति बन्द भएको छ । अहिले विद्युतगृह सरसफाईको काम भैरहेको र त्यसपछि उत्पादन सुरु गर्न सकिने/नसकिनेबारे टुंगोमा पुग्ने नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रका प्रमुख सन्तोषकुमार जयसवालले बताउनुभयो ।
त्रिशूली नदीकै जलप्रवाहमा आधारित १४ मेगावाटको देवीघाट जलविद्युत आयोजनाबाट उत्पादित बिजुली भने वितरण भैरहेको उहाँको भनाई छ । नुवाकोट भर ११ मेगावाट बिजुली माग छ । देवीघाट जलविद्युत आयोजनाबाट भने ३ मेगावाट बिजुली उत्पादन हुँदै आएको छ । जिल्लाभर नियमित रुपमा विद्युत वितरण हुन अझै केहीदिन लाग्ने वितरण केन्द्र प्रमुख जयसवालले बताउनुभयो ।
-साभार