adv

भरतपुर दिनभर तनावग्रस्त बन्दा १० राउण्ड हवाई फायर, एक जनालाई लाग्यो गोली

चितवन ।  भरतपुर महानगरपालिकाले राजमार्ग क्षेत्रमा अटो रिक्सा र ट्याम्पो चल्न नदिने निर्णयको बिरोधमा भएको प्रर्दशनका कारण बुधबार दिनभरजसो भरतपुर क्षेत्र तनावग्रस्त बन्यो ।

अटो ट्याम्पो व्यवसायी र मजदुर एवम् प्रहरीबीच भएको झडपमा एक दर्जन प्रहरी र केही आन्दोलनकारी घाइते भए । प्रर्दशनकारीहरुले केन्द्रीय बस टर्मिनल नजिक एक घण्टासम्म राजमार्ग अवरुद्ध गरेपछि प्रहरीले खोल्न अनुरोध गर्दा दुई पक्षका बीच झडप भयो, गोली चल्यो ।

प्रर्दशनकारीले जिल्ला प्रशासन कार्यालय नजिकै रहेको प्रहरी चांकीमा आगजनी गर्न खोजे । उनीहरुले ना १६ प ९४०७ नम्बरको मोटरसाइकलमा आगजनी गरे ।

नजिकै रहेका अन्य सवारी साधनहरु तोडफोड गर्न थाले । प्रहरीले १० राउण्ड हवाई फायर गर्‍यो । प्रदर्शनकारीहरुले योजनावद्ध रुपमा अटोमा बोकेर ल्याएर ढुंगा र इट्टा प्रहरी माथि बर्साउन थालेपछि प्रहरीले मान्छे नै ताकेर गोली चलायो ।

प्रहरीको गोली लागी गैडाकोट नगरपालिका ५ वस्ने बर्ष ३८ का महेन्द्र सुनार घाइते भए । उनको घुँडा भन्दा तल गोली लागेको छ । मोटरसाइकल जलाउने उनै भएको प्रहरीको दावी छ । भरतपुरको एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा शल्यक्रिया गरिएको अस्पतालका अर्थोपेडिक सर्जन एवम् सञ्चालक डा. प्रमोद लामिछानले जानकारी दिए ।

प्रदर्शनका क्रममा १२ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी प्रभु ढकालले जानकारी दिए । घाइते प्रहरीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । डिएसपी ढकालले आन्दोलनकारीहरुले उग्रताले हद नाघेपछि प्रहरीले हवाई फायर गरेको बताए । राजमार्ग नै बन्द गरेर सडकमा अवरोध खडा गर्ने काम राम्रो नभएकोले बल प्रयोग गरी राजमार्ग खुलाइएको बताए ।

‘एक घण्टासम्म त हामीले पनि हेर्‍यौं त्यसपछि अनुरोध गर्‍यौं उल्टै प्रहरी माथि नै आक्रमण भएर चौकी आगो लगाउन थालेपछि सहने कुरा पनि भएन’ डिएसपी ढकालले भने ।

वार्ता मिल्न लाग्दा भड्कियो आन्दोलन

भरतपुर महानगरपालिकाले साउन ५ गतेबाट नै राजमार्ग क्षेत्रमा अटो रिक्सा र ट्याम्पो चलाउन रोक लगाउने तयारी गरेको थियो । महानगरको निर्णयका बिरुद्धमा उच्च अदालत पाटनको हेटौडा इजलासमा मुद्दा पर्‍यो । अदालतले तत्काल निर्णय कार्यान्वयन नगर्न महानगरका नाममा स्टे अर्डर दियो र दुवै पक्षलाई छलफलका लागि बोलायो ।

दुवै पक्षको बहसपछि अदालतले स्टे अर्डरलाई निरन्तरता दिनु नपर्ने भन्दै महानगरको निर्णय कार्यान्वयनका लागि साउन ७ गते बाटो खोलिदियो । तर फैसलामा वैकल्पिक समानान्तर मार्ग नभएको ठाउँमा चल्न दिनु भन्ने थियो । राजमार्ग वारपार गर्ने १६ वटा बिन्दुमा थप ३ वटा थप गर्नु भन्ने पनि आदेशमा उल्लेख छ ।

अदालतको फैसला पछि अटो व्यवसायी र मजदुर एवम् महानगरका प्रतिनिधिबीच मंगलबार दिनभर जसो र आज वुधबार विहानैबाट भएको छलफलमा सहमतिको हुने टुंगो लागिसकेको थियो । तर, सहमति एकाएक भाँडिएपछि अटो व्यवसायी एवम् ट्याम्पो मजदुरहरु सडकमा बन्द गराउन उत्रिए । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदीले महानगरमा यसमा लचिलो हुँदाहुदै पनि सहमति भाँचेर आन्दोलनमा उत्रिदा यस्तो घटना भएको बताउँछन् ।

‘हामीले अहिलेको विधिले एक महिना ट्रयाल गरेर हेरौं कस्तो अवस्था आउँछ त्यसपछि फेरि समीक्षा गरौंला भन्यौं तर उहाँहरुले राजमार्गमा नगुडाई छाड्दैनौं भन्नुभयो’ प्रमुख प्रशासकिय अधिकृत सुवेदीले भने, ‘केही व्यवसायी सहमतिमा लचिलो भएपनि केही मजदुर युनियनले सहमति भाँडे ।’

खास के हो विवाद ?

भरतपुरमा केही बर्ष पहिले पायडल रिक्सा चल्थे । तत्कालीन भरतपुर उपमहानगरपालिकाले २०७२ जेठ ३० गते ३ वटा रिक्सा बराबर १ थान ई-रिक्सा सञ्चालन गर्न दिने निर्णय गर्‍यो । त्यतिबेला ९ सय १२ थान पयाडल रिक्सा हटाएर ३ सय ४ थान ई-रिक्सा सञ्चालन गर्ने अनुमति उपमहानगरपालिकाले दियो ।

नाकाबन्दीका बेलामा विद्युतीय रिक्सा प्रभावकारी भयो । जब पेट्रोलियम पदार्थ सहज भयो त्यसपछि अटो ट्याम्पो आउने थाले । हुँदा हुँदा यस्तो अवस्था आयो कि, भरतपुरको राजमार्ग क्षेत्र नै अटो रिक्सा र ट्याम्पोले भरिन थाल्यो ।

जहाँ पनि रोक्ने, जता पनि मोड्ने गर्दा यस्ता सवारी साधनका कारण दुर्घटना बढेको गुनासो आउन थाल्यो । तीन पाङ्ग्रे सवारीसाधनको संख्या अनपेक्षित ढंगले बढे पछि गत जेठमा भरतपुर महानगरपालिकाले अटो रिक्सा दर्ता तथा सञ्चालन अनुमति प्रक्रिया रोक्नका लागि तेस्रो पटक यातायात मन्त्रालयमा पत्राचार गरेको थियो ।

गत वर्षको जेठ ७ गते र भदौ २१ गते महानगरले पत्रचार गरे पनि तीन पाङ्ग्रे अटो रिक्सा दर्ताको प्रक्रिया नरोकिएको महानगरको गुनासो थियो ।

चितवनमा ई-रिक्सा एक हजार, अटो रिक्सा तीन हजारभन्दा बढी र ७० हजार मोटरसाइकल रहेको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

करिव ४ लाख रुपैयाँ लगानीमा आउने यस्ता साधनबाट दैनिक १५ सयदेखि २ हजारभन्दा बढीसम्म आम्दानी हुने गरेको छ । कम लगानीमा बढी आम्दानी हुने भएपछि अनियन्त्रित ढंगले यसको संख्या बढेको छ । भरतपुरमा यस्ता अटो रिक्सा बेच्ने ३ वटा ठूला कम्पनी छन् । यीनले अहिलेसम्म २१ सय बटा बेचेको बताएका छन् ।

घरघरमा पुर्‍याइदिने र यात्राका लागि सहज भए पनि संख्या अत्याधिक हुँदा समस्या बनेको महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदी बताउँछन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु