adv

सरकार र डा. गोविन्द केसीको वार्ता असफल, सरकार असंवेदनशील रह्यो

सरकार र डा. गोविन्द केसीको वार्ता असफल भएको छ । सरकार जिम्मेवार ढंगले प्रस्तुत नहुँदा वार्ता असफल भएको भन्दै डा. केसीको वार्ता टोलीले आफूहरुको २२ बुँदे सूचीका आधारमा चिकित्सा शिक्षा विधेयक पास गर्ने प्रतिवद्धता आएपछि मात्र वार्तामा बस्ने बताएको छ ।

सरकारले भने राजनीति भएका कारण डा. केसीसँगको वार्ता असफल भएको जनाएको छ । सरकार र डा. केसीको वार्ता टोलीबीच सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा वार्ता भएको थियो ।

तर, चिकित्सा शिक्षा विधेयकमा डा. केसी पक्षले राखेको संशोधनका प्रस्तावमा सरकारी पक्षले कुनै ठोस जवाफ नदिएपछि वार्ता असफल भएको हो ।

वार्ता रोकेर सरकारी वार्ता टोली परामर्शमा गएको थियो । तर, कुनै प्रगति भएन ।

स्रोतका अनुसार सरकारी टोलीले नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङलाई विधेयक संशोधनका लागि मध्यस्थकर्ताको भूमिका खेल्न आग्रह गरेको थियो, जसले सरकार र डा. केसीको सम्वादहीनता अन्त्य गर्न पहल गरेका थिए ।

तर, नेता नेम्वाङले विधेयक संसदको विषय भएको बताएपछि सरकारी टोलीले सहमति दिन सकेन ।

डा. केसीको स्वास्थ्य असाध्यै नाजुक भइसक्दा पनि सरकारी पक्ष गैरजिम्मेवार बनेको र विधेयकसम्वन्धी दफागत छलफलमा प्रवेश नै गर्न नचाहेको केसीको वार्ता टोलीका संयोजक डा. अभिषेकराज सिंहले बताएका छन् ।

सरकारले सत्याग्रहीको ज्यान जोखिममा पार्ने र चिकित्सा शिक्षा क्षेत्रमा सुधारका काममा हलो अड्काउने रवैया देखाएको भन्दै उनले भनेका छन्, ‘यो अवस्थामा थप अलमल गरेर डा. केसीको स्वास्थ्यलाई झनै जोखिममा पर्न हामी तयार छैनौं ।’

वार्ता टोलीका सदस्य डा. सुरेन्द्र भण्डारीले वार्ता असफल हुनुका कारण कारण सुनाए ।

सरकार असंवेदनशील रह्यो

डा. केसीका मागहरुमा विषयगत रुपमा प्रवेश नै गर्न चाहेन
वार्तामा बोलाएर झुक्याउने मात्र काम गर्‍यो
सरकारलाई सहयोग गर्ने प्रयास गर्‍यौं, लतकता अपनायौं तर, सरकारले कुनै पनि विन्दुमा लचकता अपनाएन

‘हिजो उहाँहरुले चिकित्सा शिक्षा विधेयकबारे कुनकुन बुँदामा संशोधन गर्नु पर्ने हो दिनुस् भन्नुभयो । हामीले २२ बुँदे दियौं’, भण्डारीले भने, ‘उहाँहरुले प्रधानमन्त्रीसँग छलफल गरेर आउँछौं र आज नेगोसिएशन गरेर सहमति गर्ने समझदारी थियो तर, आज विषयमा प्रवेश नै गर्नु भएन । समस्या समाधान गर्नुपर्छ, डा. केसीको जीवन बचाउनुपर्छ भन्ने सैद्धान्तिक कुरा मात्र गर्नुभयो ।’

डा. केसीको वार्ता टोलीले सरकारलाई उपलब्ध गराएको सूचीअनुसार सुधारसहित विधेयक पारित गर्ने प्रतिवद्धता आए मात्र अर्को वार्ता गर्ने बताएको छ ।

बालुवाटारमै पूर्व संकेत

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङको पहलमा सरकार र डा. केसीको सम्वादहीनता तोडिएको थियो । उनले केदारभक्त माथेमा र मेडिकल काउन्सिलका धर्मकान्त बास्कोटासँग छलफल गरेपछि दुबै वार्ता टोली बसेको थियो ।

मंगलबार डा. केसीको वार्ता टोलीले नेम्वाङलाई भेटेर विधेयकमा केके संशोधन गर्ने लिखित प्रस्ताव नै बुझायो । साँझ दुई वार्ता टोलीबीच डा. केसीका अन्य मागबारे छलफल गरेको थियो, जसमा सहमति नजिक पनि पुगेका थिए ।

तर, बुधबार विहान बालुवाटारमा भएको छलफलले डा. केसी समर्थकलाई निराश बनायो ।

नेम्वाङको पहलमा केदारभक्त माथेमा लगायतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । वियेधकमा केके संशोधन गर्ने छलफल गर्नुको साटो प्रधानमन्त्रीले चिकित्सा शिक्षाबारे आफ्ना धारणा राखेपछि ‘डा. केसीलाई सम्झाइदिनुस्, बाँकी संसदमा हेरौला’ भनेर पठाएको स्रोतले बताएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु